कथा: त्यो निलो झ्याल। विमल सिटौला।
म बस्ने कोठाको पश्चिमपट्टि एउटा झ्याल थियो। झ्यालबाट बाहिरको सबै दृष्य देखिँदैनथ्यो। किनकि, म बसेको घरको सामुन्ने अर्को घर नारिएर विराजमान थियो। यसो भनौँ, खाली जग्गा बाँकी थिएनन् वरपर। बीचमा साँघुरो गल्ली थियो जहाँ दुई गाडीहरु वारपार हुन पनि कठिन पर्थ्यो। मेरो झ्यालबाट पल्लो घरको आधा भाग प्रष्ट देखिन्थ्यो तर पूर्णरुपमा त्यस घरको झ्याल देखिन्थ्यो। निलो रंगले सजिएको त्यो झ्याल घाम अस्ताउँदै गएपछि झन् चम्किन्थ्यो। यसको कारण थियो, पश्चिमतिरको यात्रामा निस्किएको सूर्यको प्रकाश सोझै त्यो घरको झ्यालको चेहरामा ठोक्किन आइपुग्थ्यो। अर्कोतिर, झ्यालको वरपर परेवाहरु घुमिरहन्थे। सायद झ्याल आसपास तिनीहरुको बासस्थान हुनुपर्छ। परेवा बसेको घर शान्तिको प्रतीक पनि मानिन्छ। तर, कति शान्ति र फलदायी थियो त्यो घर! म एक, दुई दिनको पाहुनालाई कहाँ थाहा थियो र? उसका आँखाको हेराइले एक्कासी तातो बतास झ्यालबाट भित्र ह्वार्र पसेजस्तो अनुभूति हुन्थ्यो र मभित्र कुन्नि कस्तो कस्तो आवेग जन्मिन पुग्थ्यो र शरीर एकैचोटि जोडले झंकारिन्थ्यो, जसरी अग्निमा शरीरको कुनै अंग पर्दा च्वास्स हुन्छ।त्यो झ्यालबाट एक स्त्री घरीघरी मुन्ट...