कविता: बाँचिरहनेछन् देवकोटा । विमल सिटौला ।
आज सच्चा सृजनाको आधार स्तम्भ ढल्दै छ ! मौलिक सुवासको चरण विन्दु कविलाई महाकवि बनाएको निकेतन- ' कविकुञ्ज ’ फगत पुनर्निर्माण नाममा । देवकोटा जन्मिएको घर । हाँस्यौ होला कवि, ‘कविराजको च्याङ्ग्रे खच्चर’ लेख्दा र, गुञ्जिएथ्यो होला तिमी बस्ने कोठा । एकदिन, एकैचोटि उधानमा, सुकुलमाथि पुगेथ्यौ टेबल र मेचको अत्याचार सहन नसकी सायद लेखेथ्यौ ‘सुकुलमाथी’ प्रकृतिको काखमा बसेझैँ गरेर । ‘पहाडी जीवन’ लेख्यौ गोसाईँथानको स्मृतिमा ‘निद्रा’ लेख्दा लेख्दै त्यहीँ निदायौ । हो, तिमी पागल भयौ, रैयतले पागलको पगरी लगाइदिँदा । झाटमा पलेटिएर रोइरोइ आफ्नो हाल सुनायौ शब्दहरुबाट ताली बजायौ खिलि पियौ र धुवासँग वात मार्यौ । सायद घनघोर आर्तमा परेर भित्तामा मस्तक पनि बजार्यौ कि । आज तिमीलाई चिन्ने साथीहरु सबै ढालिँदै छन् ! तिमीलाई एकोहोरो हेरिरहने ढुङ्गा र माटो लेखिएका कागजका चिर्कटा सुरक्षित राख्ने खोपो चढ्नेझर्ने भर्याङ, ढिकी, मेच, टेबल कुर्सी । आज सच्चा सृजनाको आधार स्तम्भ ढल्दै छ । पुननिर्माणको लागि घर भत्काइँदै । तिम्रो लेख्ने आसनमन्तिर कालैकालो, मैलेमैलो, झुत्रैझुत्रो तिम्रो कमिज...