कविता: बाँचिरहनेछन् देवकोटा । विमल सिटौला ।
आज सच्चा सृजनाको आधार स्तम्भ ढल्दै छ !
मौलिक सुवासको चरण विन्दु
कविलाई महाकवि बनाएको निकेतन- 'कविकुञ्ज ’
देवकोटा जन्मिएको घर ।
हाँस्यौ होला कवि, ‘कविराजको च्याङ्ग्रे खच्चर’ लेख्दा
र, गुञ्जिएथ्यो होला तिमी बस्ने कोठा ।
एकदिन, एकैचोटि उधानमा, सुकुलमाथि पुगेथ्यौ
टेबल र मेचको अत्याचार सहन नसकी
सायद लेखेथ्यौ ‘सुकुलमाथी’ प्रकृतिको काखमा बसेझैँ गरेर ।
‘पहाडी जीवन’ लेख्यौ गोसाईँथानको स्मृतिमा
‘निद्रा’ लेख्दा लेख्दै त्यहीँ निदायौ ।
हो, तिमी पागल भयौ, रैयतले पागलको पगरी लगाइदिँदा ।
झाटमा पलेटिएर रोइरोइ आफ्नो हाल सुनायौ
शब्दहरुबाट ताली बजायौ
खिलि पियौ र धुवासँग वात मार्यौ ।
सायद घनघोर आर्तमा परेर
भित्तामा मस्तक पनि बजार्यौ कि ।
आज तिमीलाई चिन्ने साथीहरु सबै ढालिँदै छन् !
तिमीलाई एकोहोरो हेरिरहने ढुङ्गा र माटो
लेखिएका कागजका चिर्कटा सुरक्षित राख्ने खोपो
चढ्नेझर्ने भर्याङ, ढिकी, मेच, टेबल कुर्सी ।
आज सच्चा सृजनाको आधार स्तम्भ ढल्दै छ ।
पुननिर्माणको लागि घर भत्काइँदै ।
तिम्रो लेख्ने आसनमन्तिर कालैकालो, मैलेमैलो, झुत्रैझुत्रो
तिम्रो कमिज मुजुक्क परेर कम्मरमा आएको
तिम्रो टोपीले नेपाली सुवास मगमगाएको
आहा!
यस्तै मुद्रामा तिमीले विचरण गर्ने दक्षिणदिशाको झ्याल
त्यो अमर कृतिहरु जन्माउने झ्याल ।
आज कवि हृदय पगाल्ने द्वार ढल्दै छ ।
तिमी बाँचिरहेछौ जनमनमा र अडिरहेछौ शिखरमा
तिमी अजरअमर छौ यो धरामा, बोकेर अमरत्वको बुटी
शब्दहरुको छडीले घोचिरहेछौ आडम्वरका फलहरु, माथिबाटै
र, आज तिनैलाई झारिरहेछौ धरातलमा ।
नेपाली माटोको सुगन्ध बोकेर संसार डुल्न रुचाउने तिमी
आज तिमीलाई नै संरक्षण गर्ने नाममा
तिम्रो निवासबाटै तिमी ढालिए तापनि
जनमनको हृदयबाट ढालिएका छैनौ ।
कुदिएका छौ अतलसम्मै ।
तिम्रो आसन सदा उही छ, शिखर, चुलीसमान ।
तिम्रो श्रद्दा उही छ ‘महाकवि।'
जुगौँजुग बाँचिरहनेछौ ।


Comments
Post a Comment