लेख: व्यक्त्ति एक व्यक्तित्व अनेक भएका देवकोटा । विमल सिटौला ।

प्राक्कथन

–––––––––––

महाकवि लक्ष्मीप्रसाद देवकोटा (वि.स. १९६६-२०१६) नेपाली साहित्यमा स्वच्छन्दतावाद भित्र्याउने हुप्रतिभाशाली साहित्यिक हस्ती हुन् । प्रकृति र मानव जातिका पुजारी कवि देवकोटा सर्वोच्च कोटीका युगौँ युगका केन्द्रिय कवि हुन् । उनले कृतिमार्फतका दिन खोजेको चेत् आज पनि ब्रम्हाण्डका सच्चा मानवका लागि होस् या सच्चा नेपालीका लागि अनुकरणीय रहेको पाइन्छ । उनका साहित्यिक कृतिका बारेमा हामी थोरधेर परिचित त छौँ नै । तर, उनको शास्त्रिय जीवन, नेपाली भइकन अंग्रेजी मोह र उनका अरु विलक्षण क्षमताका बारेमा कम लेखिएपश्चात् आजको दिनमा उनका योगदानका बारेमा कम तलास गरिएको महसुस उँचो हुँदै छ । आजको यो लेख उनका यस्तै ओझेलिएका वा नखोतालिएका विषयको केन्द्रियतामा फन्फन् घुम्नेछ । फलस्वरुप, त्रिसठ्ठी वर्षपश्चात् महाकविप्रति उतिकै उच्च सम्मान प्रकट गरिनेछ ।



 

शास्त्रिय वातावरणमा हुर्किएका देवकोटा

–––––––––––––––––––––––––––––––

सुदुर पश्चिमबाट गोर्खा जील्ला आइपुगेका देवकोटा वंश काठमाडौँभित्रै भोटाहिटीबाट त्योताका डिल्लीबजारमा बसाईँ सरेका थिए । र, देवकोटा त्यहीँ जन्मिएका थिए । सर्वविदितै छ- महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म लक्ष्मीपूजाको दिन काठमाडौँको डिल्लीबजार धोबीधारा टोलमा भयो । नामकर्ममा तीर्थमाधव देवकोटा भएपनि उनी लक्ष्मी पुजाको साँझ जन्मिएकाले लक्ष्मीको प्रसादको रुपमा उनलाई ग्रहण गर्दै लक्ष्मीप्रसाद भनि बोलाउन थालियो । फलस्वरुप, परिवारमा अरु सदस्यमध्ये उनलाई एक ज्योतिपुञ्जका रुपमा हेर्न थालियो । दोस्री आमा अमर राज्यलक्ष्मीका कोखबाट जन्मेका दर्जन सन्तानमध्ये उनी साहिँला सन्तान कहँलिए । सायद ठूलो पारिवारिक घरानामा उनले सबैको हई-हाई पाए होलान् । अर्कोतिर, उनका पिता तिलमाधव देवकोटा भने दरबारमा नेपाली र संस्कृत भाषा अध्यापन गराउथे । यसप्रकार, निवासको वातावरण पठनका लागि एकदम शास्त्रिय भएको स्वत: अनुमान गर्न सकिन्छ । पिताको पाण्डित्य अंशको झिल्को कलिलो उमेरदेखि उनीभित्र झिलिक्क भइसकेको थियो । साथसाथै, उनी घरको जीर्ण आर्थिक अवस्थासँग कलिलै उमेरमा राम्ररी भिजिसकेकाले आफ्ना अभिभावक(पिता र दाजु) को पदचाप पछ्याउन सुरु गरिहाले ।

 

उनका पिताले उनलाई भक्त्ति रसका श्लोकहरु सार्न दिन्थे र कलिलै उमेरमा अति आकर्षक अक्षरमा सार्दै र साथसाथ कण्ठस्थ गर्दै जान्थे । यसप्रकार, वि.स १९७७ सालको अन्त्यतिर दरवार स्कुलमा एकैचोटि पाँच कक्षामा भर्ना गराइए । भर्ना हुनुपूर्व गुरुस्तुती, रघुबंश, अमरकोश आदिलाई आफ्नो मगजमा खुत्रुक्क घुसाइसकेका देवकोटाले त्यहाँ कविताहरु रच्दा र सुनाउँदा सुरुताकामा ‘सुकुल गुन्डो’ वा ‘नक्कली मयूर’ भनेर सहपाठीहरुले खिसिटिउरी गरेका प्रसङ्ग पढ्न पाइन्छ । यद्दपि, समय बित्दै जाँदा उनलाई एक प्रचुर कल्पनशिलता भएका कविका रुपमा चिन्न थालिसकेका थिए जब उनले सहपाठीहरुलाई विभिन्न शीर्षकका( जस्तै, दरवार स्कुल) कविता सुनाएर चकित बनाए । 


यसरी देवकोटाको वाल्यकाल एक व्राह्मण कुलमा शास्त्रको रसस्वादन गर्दै एक शसक्त्त अध्येता भएर वित्यो । यसकारण पनि उनले खेलमा त्यति रुचि देखाएनन् । दश वर्षकै अपक्क उमेरमा उनले संसारको रित उजागर गर्ने लयमय कविता संसार दु:ख सागर रचना गरे । अर्कोतिर, उनको रचनामूल पगार्ने अलि अघिका शास्त्रिय कविशिरोमणि लेखनाथ पौड्याललाई पनि जस् जान्छ भनेर धेरै समीक्षकहरुले लेख्नुभएको छ । जे होस्, उनलाई उनका पिताले एक पण्डित बनाउन चाहेपनि, उनी प्रत्यक्ष शास्त्रिय वातावरणको एक अभिन्न अंङ्ग भएर आफ्नो काँचो बाल्यावस्था बिताउने भाग्यमानि महापुरुष हुन् ।

 

अंग्रेजी मोहले तानिएका अध्येता

–––––––––––––––––––––––

देवकोटामा अंग्रेजी मोह जाग्यो कि जगाइयो भन्ने सवाल महत्वपूर्ण हुन जान्छ । मलाई लाग्छ बालबालिका काँचो माटो हुन् र जस्तो सोच्यो त्यस्तै रुपमा ढाल्न सकिन्छ । उनलाई पनि सर्वप्रथम दरबार स्कुलमा भर्ना गराइदिएकाले कलिलो उमेरमै अंग्रेजी साहित्यको आस्वादन गर्ने वातावरण मिल्यो । यसको श्रेय पितालाई नै जान्छ । पिताको सम्बन्ध दरबारियासँग दरिलो थियो । आमा र जेठा दाजुको आग्रहमा आधुनिक शिक्षाप्रति चासो उत्पन्न भएकाले उनले पनि जोड गरेका हुँदा हुन् । यसरी देवकोटालाई काँचो उमेरबाटै अंग्रेजी मोहले पनि तानेको तान्यै लग्यो र कक्षा सातमा आइपुग्दा फाट्फुट अंग्रेजी कविताहरु लेख्न सुरु गरे । देवकोटाले तेर्ह वर्षको उमेरमा अंग्रेजी कविता सृजना गरिसकेका थिए भने विस्तारै उनले अंग्रेजी भाषाको ज्ञान पनि हासिल गर्दै गए । वि.स १९८८ सालतिर एम.ए. गर्न उनी पटनामा पुगे । त्यसपछि त उनीमा पाश्चात्य साहित्यप्रतिको मोह झन् चुलिएर गयो । लेखनाथमा जसरी संस्कृतको भुत सवार भयो त्यसरी नै देवकोटामा अंग्रेजीको रुमानी शैलीको छाँया आरुढ देखिन्छ । भनौँ, उनले अंग्रेजीका व्यापक रोमान्टिक कविताहरु, कथाहरु, लेखहरु छिचोल्ने सौभाग्य प्राप्त गरे । यो सौभाग्य त उनले त्रिचन्द्र कलेजमै पाएका थिए । तर, वृहत्तर रुपमा भने पाएका थिएनन् । यसरी युरोपबाट सुरुभएको रुमानी प्रवृतिको प्रभावले कालान्तरमा देवकोटालाई स्वच्छन्दतावादी कविका रुपमा विश्वभर परिचित गरायो ।

 

सुरुताका उनले वि.स १९९६ सालमा प्रसिद्द तेर्ह वटा अंग्रेजी निबन्ध अनुवाद गरे जसको नाम प्रसिद्द प्रबन्ध संग्रह रह्यो । उनको वि.स. २००६ सालमा गान्धीलाई विषयवस्तु बनाएर लेखिएको अंग्रेजी कविता संगालो ‘बपु एण्ड अदर सनेट्स’ हो । उनका यी कविताहरु गान्धीको हत्यापछि तिनको सरलता र महानतालाई सम्झदै र श्रद्दा सुमन अर्पण गर्दै लेखेका थिए । त्यस्तै, उनले अंग्रेजीमा पाँच वटा निबन्ध लेखेका देखिन्छन् । ती निबन्धमा गहिरो व्याङ्ग्य तत्कालिन नेपाली समाजमाथि छ । यसका अतिरिक्त्त, उनले एक जोर कथा पनि लेखेका छन् । त्यस्तै, एक एक महाकाब्य र समीक्षा पनि । उनले सोझै अंग्रेजीमा मात्र आफ्ना मनसिजलाई उतारेनन् । नेपाली भाषामा उजागर भएका रचनाहरुलाई पनि विश्वसाहित्यमा पुर्याए । विशेषत: समकालिन कविका पाँच दर्जनभन्दा बढी कविताहरुलाई उनले अंग्रेजीमा अनुवाद गरे । उनका निजी केही कविताहरु एक संगालोमा संग्रहित छन् जसलाई उनकै छोरा प्रा.डा. पदमलाल देवकोटाले अगाडि ल्याए । संग्रहको नाम राखियो- दि लुनाटिक एण्ड अदर पोइम्स्  

 

यसरी देवकोटालाई अंग्रजी साहित्य र नेपाली साहित्यको मौलिक रसलाई आदानप्रदान गर्ने एक सेतुको रुपमा मान्न सकिन्छ । सायद त्यही भएर पो सांकृत्यान(१९५३) ले देवकोटा नेपालीका प्रसाद, पन्त र निराला तीनै हुन् भनेका हुन् कि ? जे होस् उनको अंग्रेजी मोहले गर्दा नै आजका साहित्यमा लागेका युवाहरु साहित्यको एकै खुड्किलोमा अल्मलिरहनु परेन । धन्य देवकोटा !

 

गीतकार अवतारमा उत्रिएका देवकोटा

–––––––––––––––––––––––––––

सर्वविदितै छ- उनी विराट् प्रतिभा मात्र नभएर बहुआयमिक व्यक्तित्व पनि हुन् । उनी कवि, त्यसपछि क्रमश: निबन्धकार, उपन्यासकार, कथाकार, समीक्षक, अनुवादक, गीतकार आदि हुन् । कविता प्रवाहमा अब्बल देवकोटा गीत लेखनमा उतिकै पोख्त थिए । गीतको कुरा गर्दा उनका दुई गीति संग्रह प्रकाशित छन् । ती हुन्; गाइने गीत(२०२४) र लक्ष्मी गीतिसंग्रह(२०४०) उनका गीतहरुले उमेरको खुड्किलोलाई प्रभावपूर्ण कसिमा बाँधेका छन् । बाल चेतनादेखि प्रौढ चेतनासम्म सम्पृक्त उनका गीतहरुले प्रकृतिका विविध स्वरुपको चित्रण गरेका पाइन्छन् । उनका सम्पूर्ण गीत रचनाकाल वि.स. २००० पछि देखिन्छ ।

 

यसरी लयको संसारमा उनको हृदय बाल्यकालबाटै मरिहत्ते गरेपनि करिबन चौँतिस बसन्त पार गर्दा मात्र उनले गीतहरु जनमानसमा आए । केही गीतहरु गायक रत्नदास प्रकाशद्वारा गाइएका छन् भने उनका केही शास्त्रिय कवितालाई गीति लयमा उतारी गाइएका छन् । उनका गीतहरु नियाल्दा घाँसदाउरा, मेलापातको दैनिकीलाई त टपक्कै टिपेका छन् नै, साथसाथै युगिन चेतना र प्रकृति प्रेम अनि राष्ट्रिय एकताको पक्षमा विगुल पनि फुकेका छन् । स्वच्छन्दतावादी प्रकृतिचेतना प्रधान पाइन्छ । नेपाली भाषाप्रतिको गहन सम्मान र प्रेम उनका गीतहरुमा पाइन्छन् । अन्याय, अत्याचार, शोषित र पीडितका पक्षमा उनका गीतहरु लयबद्द हुन मन पराएका छन् ।

 

यसका अतिरक्त्त उनमा संगीतमा विशेष अभिरुचि थियो । वाल्यकालमा उनले आफ्न पिताको मुखराविन्दुबाट शास्त्रिय छन्दहरु तथा भक्तिभावका कविताहरु लय हालेर सुनेका र गाएका थिए । उनले प्रवासमा बस्दा संगीतका कक्षाहरु लिएका थिए रे । नेपाल आएर पनि उनले त्यो अभ्यास गरेको प्रसंग विभिन्न पुस्तकमा पढ्न पाइन्छ ।  

 

व्यक्त्ति एक व्यक्तित्व अनेक भएका देवकोटा

–––––––––––––––––––––––––––––––––

प्रसङ्ग त माथि नै आइसक्यो कि देवकोटाको व्यक्त्तित्व अचाक्ली छ । उनले युगिन मागअनुसार कल्पनाको उडान भरेको उनका सृजनामार्फत हामी मूल्याङ्कन गर्न सक्छौँ । उनमा कवितामै संम्वाद गर्न सक्ने क्षमता मात्र नभएर विचारपरक निबन्धका माध्यमबाट अनेकन कान्ति प्रवाहित गर्न सक्ने तागत पाइन्छ । कहिले कवि त कहिले कथाकार, कहिले अनुवादक त कहिले समीक्षक, कहिले गीतकार त कहिले निबन्धकार, कहिले नाटककार त कहिले उपन्यासकार । यी विविध विधामा पकड राख्नु सानोतिनो तपस्याले हुने कुरा होइन । अनेक विधामा पकड राख्ने देवकोटाभित्रको विविधतापूर्ण अन्तचक्षु अनुकरणीय रहेको छ । उनी समयको मागअनुसारका विषयमाथि उतिकै चुस्तदुरुस्त बन्न मन पराउने र सैपरी श्रृजनाका लहरहरु उठाउने श्रष्टा हुन् । व्रिटिस साम्राज्यको बेला महाराणा प्रताप, शकुन्तलसँग पूर्विय मिथक र प्रोमिथससँग ग्रीक मिथक जोडाएर त्यो अभावलाई पुर्ति गर्न उनी तम्सिए । उनी लेखनमा पूर्विय कथादेखि ग्रीसेली कथासम्म र आधुनिक शहरी तामझामदेखि लोकलयसम्म पुगेका छन् । यति मात्र होइन, उनी व्राम्हण कुलमा जन्म लिए पनि आर्यवेत्तर समुदायको रहनसहन र संस्कृतिलाई उतारेका पाइन्छ । उनका श्रृजनामा प्रेमका अनेक रुपहरु प्रकट भएका छन् । पौराणिक वा एतिहासिक पक्षलाई जोडेर आधुनिक जनमानसका चेत खुलाउने देवकोटाका काव्यकृति नियाल्दा साँच्चै नै विलक्षण क्षमताका थिए । सांस्कृतिक चेतना तीव्रतर पार्ने देवकोटाका रचनामा नारी चिन्तन पनि उतिकै फस्टाएको पाइन्छ । यसरी देवकोटाको पचास वर्षे जीवन यात्रालाई मिहिन ढङ्गले खोताल्ने हो भने पचास भन्दा बढी विविधता भेटाउन सकिन्छ ।

 

उनको लेखन दश वर्षको कलिलो उमेरमै भएको यथार्थले उनी अद्दितिय क्षमता भएका विलक्षण साहित्यिक हस्ती हुन् भन्न त माथि नै सकियो । त्यसमाथि, महान काव्य सकुन्तल तीन महिनामा, दश दिनमा सुलोचना र एक रातमा कुञ्जिनी जस्ता असल काव्य श्रृजना गर्नुलाई तिलस्मी लेखन क्षमता भएका देवककोटा नभनेर के भन्ने ? यसका अतिरिक्त्त उनी फरक विधामा आफ्ना विचारलाई पस्केर चेतना जागृत गर्ने लेखक हुनुलाई पनि यससँग जोड्न उपयुक्त्त हुन्छ । यसरी विद्यार्थी कालमा प्रखर कवि हुँदै विश्वविद्यालयको प्राध्यापक मात्र नभएर उनी नेपालकै शिक्षामन्त्री हुनु र नेपाली भाषा र संस्कृतिको सेवामा सम्पूर्ण जीवन समर्पित गर्नु चानचुने कुरो होइन । ‘पूर्विय दर्शनको उच्च भूमि नेपाल हो भन्ने देवकोटा गध र पध दुबैमा पकट राख्ने कवि हुन् । नेपाली र अंग्रेजी दुबैमा कलम चलाउने लेखक हुन् । जुनसुकै अन्तराष्ट्रिय साहित्यिक सम्मेलनमा नेपाली संस्कृतिलाई जुरुक्कै बोकेर बढो ओजस्विलो तवरले बोल्ने अलौकिक वाककला भएका प्रतिनिधि समेत हुन् । अत: यी विविध कलाले भरिपूर्ण देवकोटा व्यक्त्ति एक व्यक्तित्व अनेक हुन् ।

 

उपसंहार

––––––––––

उनका कृतिहरुको मूल्याङ्कन या समग्र उनको जीवनकाललाई फरक जोड र कोणबाट गोचर गर्दा उनी युगीन अग्रगामि चेतनाबाट प्रभावित विराट् सर्जक त हुन् नै । साथसाथै सौन्दर्य चिन्तनको मधुमय पकड, समाजवादी यथार्थवादतिरको सङ्क्रमण, विद्रोही बिजको हर्ताकर्ता,  मानवता, स्वतन्त्रता र मुक्त्तिउन्मुख सोपान पनि हुन् । कवितामा हठात् विजित बिम्बको प्रयोगले कवितालाई कलागत वा भावगत समष्टिको उचाईमा पुर्याउने देवकोटा युगमा विरलै जन्मिन सक्ने श्रष्टा हुन् । शास्त्रिय जगभूमिमा हुर्किएर स्वच्छन्दताबादलाई पश्रय दिने कवि मात्र नभएर सबै विधामा उतिकै पकड राख्न सक्नुका साथै देशदेशान्तर युगगुग व्राम्हण्ड  डुलिरहन मन पराउने नेपाली माटोका अमूल्य वैभव हुन् । अस्तु !


सन्दर्भ सामाग्री 

–––––––––––

पाण्डे, नित्यराज, महाकवि देवकोटा, (दोस्रो संस्करण), ललितपुर: साझा प्रकाशन, २०७७ । 

बन्धु, चूडामणि, देवकोटा (चौथो संस्क. ) ललितपुर: साझा प्रकाशन, २०६७ ।


इकागजमा पढ्ने भए यहाँ क्लिक गर्नुहोला ।

Comments

Popular posts from this blog

कथा: पश्चतापको चितामा । विमल सिटौला ।

आमा गीत । विमल सिटौला