कथा: पश्चतापको चितामा । विमल सिटौला ।
महाभारत पर्वतशृङ्खला उद्गमस्थल भएर कञ्चनजङ्गा हिमालदेखि लाङटाङसम्म समेटिँदै ओरालो बगेको जल, तराईमा आइपुग्दा कतै सप्तकोसी, कतै माई र कतै मावा कहलिँदै गङ्गा नदीमा मिसिन आतुर हुन्छ । एउटा जलप्रवाह भने मावा/रतुवाको परिचय दिँदै झापा र मोरङ्गको सिमाना छुट्याएर गन्तव्यतिर लाग्दछ । सो खोला, कुनै अग्लो स्तुपकबाट विचरण गर्दा नागबेली चालमा भगवान् विष्णुको शेषनाग जमिनमा सलबलाएजस्तो, त्यो निकै सठमर्कट जीवजस्तो हुने गर्छ । अझै पनि कहिले झापालाई त कहिले मोरङ्गलाई ठुगौँलाझैँ गर्छ र मानव बस्तीको उठीबास लगाउँछ ।
त्यहीँ खोलाको डिलमा निरासिलो बनेर टुक्रुक्क बस्दै हर्कबहादुर भन्छन्, “आज रातभरिमा यो भँगालो निकै यता आउँने सङ्केत देखिन्छ । आज रातभर यसले के कति बिगार गर्ने हो त्यो भन्न सकिँदैन ।” हुन पनि त्यो याम, अतिवृष्टिको याम भइदियो । विगत बाह्र दिनदेखि घनघोर वर्षा भएर जताजतै जलमग्न भयो । केही वर्षको अन्तरालमा मोरङ जिल्लाको पूर्वी भेग इटहराका बासिन्दाहरू यसरी नै कहिले बक्राहा खोलाको सिकार हुन्थे त कहिले रतुवाको । मानिसहरूका बिघा-बिघा जमिनलाई खण्डहरमा रूपान्तरण गर्दै अघि बढ्दा हर्कबहादुर गहिरो उच्छवास लिएर फेरि भन्छन्, “खोलाको बाटो खोलैले बनाउँछ । हामीले यसो-यसो, उसो-उसो भन्दै देवीथान पुज्दा हुन्छ र बरा !” तर पनि किञ्चित् आशाको त्यान्द्रामा झुन्डिएर उनी भन्छन्, “अब आफ्नो बाटो लाग् ए.. रतुवा । बिगार धैरै भो तेरो ।” उनी माटाको डल्ला खोलातिर मन्साएजस्तो गर्दै जुरुक्क उठ्छन् र टुसुक्क बस्छन् ।
यसरी गाउँलेहरू बर्सेनि रतुवाबाट प्रताडित थिए । सुरुमा उनीहरू खोलाभन्दा दुई-तीन किलोमिटर पूर्व/पश्चिमतिर अवस्थित थिए तर अहिले खोलाको धार गाउँगाउँ हानिएर धेरै टाढा थिएन मानवबस्ती । अब त केबल खुकुरीको धारमा उनीहरूका निकेतनहरू देखिन्थे । उनीहरूको खेत बगर बनाएर पनि रतुवाले उनीहरूलाई खेद्न छाडेन । ”यो कस्तो दुर्दशा ? कहिलेको पाप यो? किन यति खेदो त !”
त्यस भेगका जनता पूर्वी पहाड ताप्लेजुङ, खोटाङ, सङ्खुवासभा आदि जिल्लाहरूबाट बसाइँ सरेर आएका थिए । त्यसमध्ये हर्कबहादुरले परार साल मात्रै आफ्नो थातथलो छोडेर त्यस झुनाबारी गाउँमा बसोबास थालेका थिए तर कस्तो पीडादायी क्षण ! कति कष्टकर बेहोर्नुपऱ्यो हर्कबहादुरले एकै वर्षमा । त्यसको यकिन गरीसाद्धे छैन । जायजेथाको नाममा एउटा घर थियो र एक बिघा जमिन जोडेका थिए । त्यो जमिन उनकै आँखाअगाडि रतुवा खोलाले खाइदियो र अहिले घरलाई ताकी-ताकी बग्दछ रतुवा खोलो, घरलाई अहिल्यै नै बगाउँलाझैँ गरेर ।
असार सकिन लाग्दैको कुरा हो । घनघोर वर्षा रोकिने छाटकाट देखिएन । बिहान, दिउँसो बेलुका, राति गाउँलेहरूका आँखा हरबखत पूर्वको रतुवापट्टि केन्द्रित हुन थाले, “कतै उत्पात बाढीले गाउँ नै बगाउने त होइन ?” भन्ने प्रश्नमा लिन भएर । पूर्वतिरको जमिन निरन्तर कटानको कटानमा रह्यो । हेर्दाहेर्दै रातभरिको कटानले बाटादेखि पाँच सय मिटर मात्र टाढा भएर खोलो बग्न थाल्यो । गाउँलेहरूले भगवान् पुकार्दै मन्दिरमा धुप बाले । इन्द्र देवतालाई बिन्तीभाउ गरे । उनीहरूले त्यस भेगका नेता भनाउँदा ठूलाठालुलाई पनि बिन्ती चढाए । तिनीहरूबाट थोरै सान्त्वना पाए तर रैयतको अन्तर्भाव उही थियो; सन्त्रासपूर्ण ! आतेसमय ! पीडादायी ! कष्टकर !
एक बिहान हर्कबहादुर बाटाको किनारमा टुसुक्क बसेर नमज्जाले रोए । उनी घुँक्कघुँक्क रोएको देखेर हर्कबहादुरकी जहान पनि साडीको सप्काले मुख छोपेर रुन पुगिन् । केही दिनअघि मात्र उनी आफ्नो खेत बगरमा रूपान्तरित हुँदा यसरी रोएका भने थिएनन् । मनमा केवल बैराग्य पलाएको थियो त्यस दिनदेखि, क्विन्टल धान उब्जाउ हुने खेत मरभूमि भएकामा । त्यस दिन त बलेको आगामा झन् तेल थपियो । आज सखारै चार बजे उनको घर रतुवा खोलाले हेर्दाहेर्दै बागाइदियो । उनले यो साट्ठी वर्षको उमेरसम्म गरेको मिहिनेत एकैचोटि तहसनहस भयो केही दिनको अन्तरालमा । अन्धमुष्टि छायो उनको आँखामा । उनको अनुताप मोतीदाना भएर बर्सिरह्यो, परेको पानी सँगसँगै । अरू गाउँलेहरूका मनमा बहुतै चिसो पस्यो किनकि खोलाको भँगालोपारिको कोहबरा छाडेर यतै-यतै सोझिएर आएको थियो । कुनै शक्तिले पनि त्यो मूललाई स्तोभन गर्न सक्दैन्थ्यो । गाउँलेहरू यसो भन्थे, “बुढापाकाहरू बाह्र वर्षामा खोला फर्कन्छ भन्थे । हो रहेछ ! यसले हरिताल लाएरै छाड्ने भो !” उनी मनन गर्न थाले । नभन्दै किनारका सुकुम्बासी बस्तीहरू त्यसै बिहान बगाइदियो । सन्थालका झप्परहरू बगाएर कहाँ पुऱ्यायो कहाँ । बुढो माझीको झुपडी पनि बगायो । प्रधानको बाँसघारी बगायो । गाईभैँसीका गोठ पनि बगायो । खोलाले भेटेजति सबै-सबै बगायो त्यस रात । रतुवा खोला, मानौँ, बौलाएर गाउँ पसिसकेको थियो र अब कुनै पनि हालतमा छाड्नेवाला छैन ।
त्यस सखार झुनाबारीवासीहरू कोही छाता आढेर, त कोही घुम वा प्लास्टिक ओढेर छटपटिँदै सडकमा यता र उता हिँड्न थाले । इटहराभरि सन्त्रास व्याप्त भयो । सुरक्षाका लागि सुरक्षाकर्मीहरू खटिए । खोलाले बगाउन लागेका घरबाट मालसामान निकाल्ने काम बिहानैबाट सुरु भयो । गाउँ-गाउँबाट आएर सबैले सक्दो सहयोग गरे । गाउँलेहरू अरू बेला खण्डित भए पनि त्यस बेला एकजुट भएर लागेका देखिए ।
हर्कबहादुरका एक मात्र छोरा सहरमा बस्दथे । उनी अब छोरासँगै सहरमा जानुको विकल्प थिएन । उनी जान मानेका पनि थिएनन् पहिले त । छोराले धेरै कर करेको थियो, “यो गाउँको जमिन बेच्नुपर्छ या अधियाँ दिनुपर्छ, अब अझै कति दुःख यो बुढोसकालमा ? अब नाति नातिना खेलाउँदै आन्नदले बस्नुपर्छ सहरमा बुबा ।” हर्कबहादुरले जबाफ दिएका थिए, “गइस् सहराँ । के खाएर बस्नु सहराँ ? गाउँको खेत नगरेर । तँ जा सहराँ । म त सकुन्जेल यतै बस्छु, नसकेको दिन हेरौँला ।” यति भनेपछि ढिपी कस्न पनि छोरोको मनले मानेन ।
छोराले आफूलाई यहाँ बसाइ सरेदेखि बारम्बार सम्झाउँदै आएको कुरा एक्कासि हर्कबहादुरको कानमा गुञ्जियो, “अब यो खोला किनारको घरमा चैनसाथ बसिरहन सकिँदैन बुबा, यो जमिन बेचेर अन्त कतै जानुपर्ला ।” तर हर्कबहादुरले मानेका भने थिएनन् किनकि पहाड गाउँका उनका दौँतरीहरू र अरू नातागोताहरू त्यहीँ वरपर थिए । उनलाई त्यो गाउँ छोडेर अन्त कतै जान मन पटक्कै थिएन । प्रतिक्रियामा उनी भन्थे, “अब कति चोटि बसाइँ सर्नु, जे छ यहीँ ठिक छ । खोलाले हामीलाई मात्र छानेर लग्दैन होला ता नि ।”
उनका छोरा कमल त्यस बिहान बाढी बितन्डाको खबरले स्तब्ध भएर आइपुगेका थिए सहरबाट । हर्कबहादुर सडक किनारमा टुसुक्क बसेर लामो उच्छ्वासमा असन्तुलित हुँदै पूर्वपट्टि त्यही खोलाको गडगडाहटलाई सुन्दै र हेर्दै टोलाएका थिए । उनी टोलाएका थिए- मानौँ ठूलो वज्रपात परेको छ उनको जीवनमा । उनी सोच्थे, “योभन्दा अर्को उत्ताप हुने छैन जीवनमा अब ।” उनी मनमनै काँपिरहेका पनि थिए, “भगवान् ! रक्षा गर । भगवान् ! रक्षा गर । प्रभु ! रक्षा गर । प्रभु !” उनी दुई हात जोडेर जिउ काँप्दै भर्खर घुम्टो खोलेको सूर्यउपर नतमस्तक थिए । उनका छोरा आएको पनि उनले हेक्का पाएका थिएनन् । कमल, परबाट गाउँलेका बेकरारलाई नियाल्दै, उनीहरूका मुखमुखमा हेर्दै आफ्ना बाबाआमाउपर आइपुग्छन् र आक्रोश पोख्छन्, “मैले पहिल्यै भनेको होइन, खोलाको किनारमा नबसौँ भनेर । मेरो कुरा खाएको भए अहिले यो बिल्लिबाठ हुने थियो र ? भएको जायजेथा सेकेन्डमा स्वाहा हुने थियो र ? खाऊ बुढा अब ।” यसरी छोराले एकोहोरो आक्रोश आफ्ना बाबुउपर पोखिरहेथ्यो । हर्कबहादुर भने मरेतुल्य भएर खोलाको भँगालोमा निरत भएका थिए । सायद उनी त्यो खोलासँगै जान चाहन्थे कि ? के थाहा, कस्तो सनक चल्छ छिनभरमा तन्नमभगत हुँदा ?
छोराको अत्याक्रोशले हर्कबहादुरभित्र भिन्नै तरङ्ग उत्पन्न गऱ्यो । उनलाई त पहिल्यैबाट ज्ञात थियो प्रत्यक्ष आरोप्य हुनुपर्नेमा । उनलाई पश्चत्तापले घाटी निमोठ्यो र सास थुनिएलाझैँ भयो एकछिन । यसबाट उनलाई पश्चात्तापको चितामा पुगेझैँ भयो । उनी घुटुक्क थुक निल्दै विगतको पहाड सम्झन्छन् । तराईमा खोलाको जोखिम हुन्छ भन्ने कुरा उनले सुनेका थिए पहिल्यै । उनलाई जानी-जानी खोलाकै किनारमा थातथालो बनाएकामा घनघोर प्रायश्चित्त हुन्छ । त्योभन्दा ठूलो धक्का त उनले छोराको सल्लाह इन्कार गरेकामा हुन्छ । उनका आँखा कुवा रसाएझैँ रसाइरहन्छन्, अनवरत रूपमा । उनी टोलाइरहन्छन् त्यो विशाल खोलालाई हेर्दै । पानीका छालहरू हुत्तिएर उनका खुट्टासम्म आइपुग्छन् । मझधारमा देखिन्छन् मुढामुढी, ठुटाठुटी, रुख बुट्यान, चिर्पट, बाँस आदि आदि खोलाले सोत्तर पारेर बगाउँदै बगाउँदै दक्षिणतिर ठेलेको । त्यसपछि उनकी जहान उनको नजिक जान्छिन् र पतिलाई अलि यता तान्छिन् । उनीहरू खासखुस खासखुस पनि गर्छन् त्यहाँ ।
उतातिर सबै गाउँले दाजुभाइ तथा दिदीबहिनीहरू गोलबद्ध भएर बसिसकेका थिए जोखिमको अविलम्ब पथ्यनिकासका लागि । एक नेता भनाउँदो आएर आश्वासन दिन तमतयार भएर अगाडि सरिहाले, “तपाईँहरूलाई बस्नेको व्यवस्था हामी गर्नेछौँ । तपाईँहरूको मर्म हामी बुझ्नेछौँ । तपाईँहरू अहिले पीडामा हुनुहुन्छ, होइन ? हामी राहतका लागि आजै माथिल्लो निकायमा पहल गर्नेछौँ ।” गाउँलेहरूको मर्मस्पर्शी बेदनामा तिनले आफ्नो राय व्यक्त गरिरहँदा हर्कबहादुरलाई निमेषभरमै सनक चल्यो र जुरुक्क उठे, अनि भन्न थाले, “गाउँको मायाँ लाग्ने भए तिमी पहिल्यै आएर चाँजोपाँजो गर्थ्यौ होला । यो तटलाई बाँध बाँध्थ्यौ होला । आज सबै हुनुहार भयो अनि तिम्रो राजनीति सुरु भयो होइन यो गाउँमा ? तिमीजस्तो लज्जित र लाज पचेको नेता यो ठाउँलाई स्वीकार्य छैन । राजनीति नगर यो पीडामा । हामी मर्न लागेका छौ । भो, भावनामाथि खेलबाड नगर । नगर । बुझ्यौ ? जाऊ, आफ्नो बाटो लाग ।” नेता भनाउँदो बोल्दै थियो केही त ठूलो-ठूलो घोषमा तर हर्कबहादुरको मर्मान्तक पीडा एक चीत्कारका रूपमा सबै गाउँलेको आवाज भएर एकाकार भयो । फलस्वरूप नेता भनाउँदोको आवाज त्यो घन्चमन्चमा दोस्रो भएर कता बिलायो कता ।
गाउँलेहरूले फरक-फरक अड्कल काट्न थाले, त्यसै गाउँका एक पण्डितले भने, “सायद यसपालि जाल्पादेवी मन्दिरमा पुराण लाइएन, मानवले आफ्नो धर्म भुलेपछि प्रकृतिले बिगार गर्छ । पक्कै यही हो विनाशको मार्ग ।” “होइन होइन, कुरै नबुझी नबोल बाजे, जे कुरो पनि धर्मकर्ममा जोडेर हुन्छ ? पारि झापा जिल्लाको तटबन्धन देख्या छौ ? त्यसैको परिणाम हो यो । माथि गाईघाटबाट आएको पानीको बेगलाई त्यो तटबन्धनले यता धकेलेको हो । अब तल पुगेर यसको मूलप्रवाह उतापट्टि सोझिन्छ ।” अर्का गाउँलेले आफ्नो फरक मत यसरी राखे । कसैले यति बेजोड बाढी आउनुको कारण अरू केही नभएर अविश्रान्त वर्षा हुनु हो भने त कसैले पापको परिणाम । गाउँलेको बोलीमा के कति सत्यता थियो त्यो त भगवान् जानून् । झुन्ड-झुन्ड भएर अड्कलबाजी गर्नेहरू धेरै जमे त्यहाँ ।
बाढीपीडितहरूका लागि विभिन्न सङ्घसंस्थाबाट राहतहरू आउन थाले । गाउँलेहरू राहत लिनका लागि लाइनमा उभिए । एक सुकुम्बासी बस्ती थियो जो पूर्ण रूपमा बिस्थापित भएको । तिनीहरूसँगै हर्कबहादुरकी जहान उभिइन् । अरू गाउँलेहरू पनि उभिए । सबैले राहत थापे । दैनिक उपभोग्य वस्तुहरू पीडिहरूले केही दिन बाँच्नका लागि भए पनि पाए । यो मानवताको एउटा कोसेढुङ्गा थियो ।
तर खोलाको डिलमा चिउँडोमा हातको टेका लगाएर अक्षोभ बनेका हर्कबहादुर एकाएक गायब भए । जब उनकी जहान आफ्ना पति भएतिर आइन्, उनलाई देखिनन्, तब मात्र उनी चिच्याइन् । भिडमा उनले आफ्ना छोरा कमललाई सङ्केत गर्दै अघोर भावमा भनिन्, “कमले, तेरो बुबाले हाम फालिसकेछन् नि भँगालोमा । आइज, आइज ।” हर्कबहादुरकी जहान रुँदै र चिच्याउँदै हातले बोलाउन थालिन्, “भन्दै थे उनी बिहानबाट, अब बाँच्नुको कुनै अर्थ छैन कमलेकी आमा ! छोराले पनि मलाई धिक्कार्छ ! मलाई के दशा लाग्यो यो ! न बस्ने घर भो न अन्न खाने खेत ! किन एकैचोटि यति पीडा दियौ भगवान् मेरो परिवारमा ? अहिले भर्खर मलाई भन्दै थे, मलाई मरूँ मरूँ भा’छ कमलेकी आमा । म आजै मर्छु होला । म राहत थाप्न नगाकी भए त उनी बाँच्थे होला ।” यसरी नै उनी प्रलय बेदनाले छिनछिनमा भिजेर लम्पासार परिन् सडकमा ।
उतातिर हर्कबहादुरको लास एक किलोमिटर तलबाट दुई-चार जना पौडीबाजहरूले फेला पारेर किनारमा उतारे । गाउँलेहरूले उनको दाहसंस्कार त्यहीँ किनारमा गरिदिए । कमलले उनकी बुढी भइसकेकी आमालाई लिएर सहरमा गए । कमललाई निकै पश्चात्ताप भयो । सायद उनी जीवनभर पश्चात्तापको चितामा जलिरहनेछन् । आवेगमा आएर बुबालाई इलजाम लगाएकामा आफ्नी बुढी आमासँग माफ पनि मागे तिनले ।
त्यस दिनबाट नै त्यस वर्षको वृष्टिमा ह्रास भएर गयो । फलस्वरूप त्यस वर्षबाट रतुवा खोलाको मूल प्रवाह झापाको चप्रामारीतिर सोझियो, तर बाह्र वर्षमा खोला फर्कन्छ भन्ने त्रासमा त्यस भेगका जनता अझै पनि त्राहिमाम् छन् । दैव ! के हुने हो फेरि ?
विमल सिटौला, २०७८/५/२३
Comments
Post a Comment