किनार बस्तीको मजदुर दिवस ।
'किनार बस्तीको मजदुर दिवस'
यो कुनै उतराधुनिक समयको घट्ना होइन, न त कुनै ग्रन्थ वा त्यस्तै कुनै मुद्रित पुस्तकमा सुन्दै आएको कुनै लोकको चोलाचोलाको विरक्ति हो जसले पाठक वर्गमा उनीहरुप्रति सहानुभूति राख्न सफल होउन् । बरु, यो त मैले बेलाबखत कल्पनिक सौराहट गर्दै आएको किनार बस्तीको कहानि हो जुन आज मैले आज सुनाउन मन पराएँ, जसमा न शुरुवातमा सहानुभूतिको अपरिहार्यता छ, न अन्त्यतिर तालिको गुन्जाहट नै ।
त्यस गाउँमा, एउटा किनार बस्ती थियो । त्यहाँ सबै कर्मकर, कजिया, श्रमजीवि मजदुरहरु बस्दथे । त्यस बस्तीका सबै बासिन्दाहरु दिनले उषाको उज्यालो नपाई झिसमिसैमा लामो यात्रामा निस्कन्थे । ती श्रमजीवि मजदुरहरुको हतासपूर्ण यात्रा साँच्चै कर्कशिलो देखिन्थ्यो । नानी च्यापेर द्रुत गतिमा हतासिएका महिला पछिपछि देखिन्थे, अलि अघि हिष्टपुष्ट पुरुषहरु देखिन्थे । आवाल, बृद्भ, नरनारी, पति सबैसबै त्यतैतिर होमिन्थे । मानौँ, उनीहरुले आफूलाई त्यतैतिर आत्मोसर्ग गरेका छन् । उनीहरुले आफ्नो नित्यकर्म पनि गन्तव्यमा पुगेर गर्थे । कोहीकोही किनारतिर टुसुक्क बसेका पनि देखिन्थे ।
हो, उनीहरुमध्ये ‘को पहिलो’ कार्यक्षेत्रमा पुग्ने भनेर होडबाजी चल्दथ्यो । उनीहरुमा कसैप्रति दुस्मनि त थिएन तर इर्ष्या, डाहा आदिको कदम्ब बढेर निकै कराल अवस्थामा पुगेको थियो । तर, विस्तारै विस्तारै उनीहरुले यो बुझे कि 'यो त सबै हाम्रो ताकछोपुवा अनुकरणात्मक प्रवृत्ति पो रहेछ । अनि, यसले त हामीलाई कष्ट दिएर मालिकलाई फाइदा गर्दो रहेछ ।' कार्यस्थलमा यस्तो नियम बसालिएको थियोः “कार्यस्थलमा हरेक दिन जो पहिलो हुन्छ उसको मासिक तखता बृद्दि हुनेछ ।” उनीहरु आफ्नो मीठो निन्द्रालाई त्याग्न त्यसरी नै विवश थिए । समय समयमा उनीहरु यस विषयमा छलफल पनि गर्थे तर निष्कर्षलाई कसैले पनि पछ्याउँदैनथे । बिहान उनीहरुको चाला त्यहि हुन्थ्यो । दौडादौड, उछिनपाछिन, ठेलाठेल, निकै बिरक्तिएको दृष्य हुन्थ्यो त्यो । करुणादायक र चखतित् !
त्यस बस्तीमा एक घागडान (सिपालु) बृद्भ पुरुष पनि थिए उनको सम्बन्ध अन्य बस्तीतिर पनि थियो । उनले बिस्तारै यो कुरा थाहा पाए, विश्वका श्रमजीवी जनता/श्रमिकहरुले एकदिन श्रमिक दिवस मनाउँछन् । उक्त दिन उनीहरु काममा जाँदैनन् । मे महिनाको पहिलो दिन हुनेछ त्यो । उक्त दिन उनीहरुले जिन्दगीमा एकदिन आराम गर्नेछन्, श्रमिकहरुका गीत गाउँनेछन्, रमाउँनेछन । त्यस किनार बस्तीमा पनि यो कुरा यत्र तत्र सर्वत्र फैलियो । किनार बस्तीका सबैले त्यस दिनको कल्पनामा उत्साहप्रद खुसी आफ्नो अनुहार र व्यवहारमा झल्काए । त्यो सामूहिक खुसी भएतापनि एकअर्काको रिसको कारणले उनीहरु त्यति बिध्न मिलेर सार्वजनिक खुसी मनाएका थिएनन् । तर जब दिन आयो उनीहरुमा अझै विश्वास थिएन् कि एकदिन उनीहरुले खुसी मनाउँनेछन् । ती बृद्भ पुरुषले गाउँमा सबैलाई जानकारी गराए । उनले यो पनि भने, "त्यस दिन हामी एउटा छलफल पनि गर्नेछौँ जुन हामीजस्ता आम श्रमजीवि मजदुरहरुका लागि हितकर हुनेछ ।"
त्यस दिन डराईडराई किनार बस्तीको पुच्छरमा सबै भेला भए । घागडान बुढाको कुरा सुनेर सबै एकत्रित भए । गाउँका सबै श्रमिकहरुले यहि निर्णय गरे, '
'हामी एकजुट हुनुको विकल्प रहेनछ । सबै मजदुरहरु एकजुट हौँ ।'
आफ्सेआप नारा गुन्जियो- मजदुर एकता जिन्दाबाद । त्यस दिनपश्चात उनीहरु सबै जना समूहमा जान थाले । त्यस किनार बस्तीका श्रमिकहरुमा आपसी प्रेम, सदभाव्, भाईचारा र एकता जीवित भयो । फलस्वरुप एउटा शोषणको अन्त्य भयो ।
✍ विमल सिटौला

Comments
Post a Comment