लघु कथा: मृत्यु ।
सत्तरी बर्षमा पनि भीष्म बाजे जवान डकार्थे । उसै पनि उनका कान तीखा, आँखा छिटा । फट्किनु पर्दा लब्रक लब्रक कुनै तरुण तरुणी सैपरी तिब्रतर फड्कन्थे । हितैषी दामोदरलाई उ.. पर छोडिदिन्थे र पछि फर्केर कम्मरमा हातको टेका लगाई भन्थे, ‘नाथु यो ठाडे भीर त, उमेरमा झिमिक्क गर्दा पो त, । अँ, टेर्दिन अझैँ, सोर्है आना ! हेर कहाँ छोड्यो यो अल्छि ?’ भीष्म बाजे हाहाहूहू गर्दै तलतिर बुटाबुटीमा रल्लिरहेका दामोदरलाई माथि पुगेर सुनाउन लागे । दामोदर तल भिरालोमा उभिएर एउटा खुट्टा माथि टेकाई उसैगरी खुई... गर्दै उभिएका थिए । सायद उनी थाके । उनले हातको इशाराले भने, ‘पख् पख् मुढेँ, म आइपुँगे, तबैतारे !’
पुराना बुढाहरुलाई सत्य युगको दुध, दहि र घिउले घच्चघच्याउछ भनेझैँ भीष्म बुढाको बोलि र गराईमा दम झल्किन्थ्यो । तर दामोदर बुढामा त्यो थिएन । दुबैको आँखाका किनारमा मुजुक्क परेर अनुहारको गतिपति थिएन । चिउडो खस्केको थियो । बाहिरी सल्लक खुम्चिएर एकै ठाउँमा देखिन्थ्यो । हत्केलाको विपरितपट्टि छाला कालो र लत्रेको थियो । देखिने जति रौँ पनि सबै सेतै । पहिरनमा सेतो कमिज परिधान गरेका, तर गोबर/सोतर सोर्दा र चुनदेबी मन्दिरछेउको चिया पसलमा समकालिनहरुसँग बसेर हात माड्दै गफ्फिदा टाटैटाटा । यधपि जीवित एउटै थियो भीष्म बुढाको गफको हाँक, बेजोडको !
पहिले पहिले अति सुरा थिए रे भीष्म बुढा । दर्जन लैना चौपाय पालेका थिए रे । बिहान सबैभन्दा छिटो मन्दिरछेउको पसलमा दुध ल्याइपुर्याउँथे रे । कम्तिमा पर्वतेनी साहूनीलाई एक कपमा तीन चम्चा चिनी थप्न लगाईलगाई चिया पिउँथे रे । र, एक बिहानभरी बढो हाँक बढाएर कुरा गर्थे रे सबै गोपाल महेशपालहरुसँग । त्यसपछि मात्र, अबेर दामोदरसँग यसरी नै नारिदै घर फर्कन्थे रे । दुधको ट्याङ्का उनले कहिल्यै छुटाउँदैनथे । तर, आजभोलि हप्तामा एक दुई दिन मात्र धाउँछन् उनी । त्यो पनि छिमेकी हितैषी दामोदर पाणेँसँग मन मिल्दा । नमिल्दा अकेलै अकेलै । अरुवेला उनका कान्छो छोरा हरिमर्दनले जिम्मा लिन्छन् । तर, दुधको रकम बुझ्न भने उनी नै ।
त्यस दिन, सँगसँगै हिँडेका उनीहरुमा भीष्म माथि ठमठमाएर पुग्दा दामोदर बुढाको मनमा वराध हिनताबोध भयो, ‘साच्चै अशक्त भएछु अब ता ।’ उनले जिब्रो फट्कारे, ‘मेरो छेउमा बढाउछ हाँक, उमेरले मेरो उमेर नाघिसक्यो । दुई मुख जोड्दा हेरिनसक्नु छ । अझ फुर्ति गर्छ । तबैतारे !’
‘अझ अल्छि रे मलाई !’ दामोदर बुढा माथि थुम्कोमा आफूउपर गिल्ला गरिरहेका हितैषी भीष्म बुढाको बारेमा यस्तै मनोगणन्ते कुरामा अल्झिएका मात्र के थिए । एक्कासि कावा खाएर ढले । तब मात्र दुधको ट्याड़्का हल्लाउदै भीष्म बुढा ओर्लिए तल ।
‘ए..ए.. के भयो तँलाई एक्कासि !’, उनी नजिकै आइपुगे । भकुल्ले शरीरलाई उनले यता र उता चलमलाए । को नि के के गरे उनले । दामोदर बुढाले आँखाका पटल खोले । एकछिन मूक देखिए उनी । लाटोसुधो जस्तो देखिए । आँखा झिमिक-झिमिक गरे । अनिमात्र भिष्म बुढा बोले, ‘गल्ती प्रायश्चित गर्दै, भोलिदेखि तँलाई मैले साथी ल्याएछु भने त मरिजाऊ । यस्तो गर्न मिल्छ यो निर्जनमा ?! आफ्नो झन्नै खरी झरे ! तैँले परिवञ्चनामा मलाई कुन दिन खाद्छस् र मेरो हालत त्यही बल बा. को जस्तो बनाउछस् । सोर्है आना !’
‘ए लौ लौ । तबैतारे !’, दामोदर बुढाले आधा शरीर उठाएर खुई पनि गरे र सञ्जीवनि बुटी दिने भीष्मलाई श्लाघा गरे, ‘तँ थिस् र त म बाचेँ बा । तँ थिइनस् भने आज मेरो परान यहि लामाटारे भीरमा जान्थ्यो ।’
केही गम्किएर त केही हाँक बढाएर भीष्म बुढा बोले, ‘तँलाई मैले धेरैचोटि त्राण गरेको छु । त्यो त माथि जगन्नाथलाई थाहै छ नि ।' यस्तै उस्तै ती व्यातित आरुण यौवनका कुरा गर्दै दुई बुढाहरु सँगसँगै उकालो लागे ।
त्यतिखेरै बिहानले ज्योतिको मुस्लो पायो । कलिलो घाँमको प्रकाशमा उनीहरुको काय तप्न त पाएन । किनकी उनीहरु पूर्वी दिशाको उकालो चढ्दै थिए । पछाडि पर घाँममा कुनै वस्तुको टलक देखियो । भीष्म बुढाले अड्कल काटिहाले, ‘ए को लम्किदै छ तलबाट । देख् त ।’ दामोदर बुढाका कौतुक नजर तल झरेनन् । बरु माथि चढ्नै बले गरे उनी । कुनै विसान नगरी उनी चढेँको चढैँ थुम्कोमा पुगे । फेरि कावा खाए । हो, उनी फेरि ढले ।
तर, भीष्म बुढा कोनि के को क्षुधित भएर, कुनै अहेरी झैँ बिराजमान भए । उनले यो थाहा पाए कि ती कुनै स्त्री नै हुन् । उनी त फर्किए आएको बाटो । ‘नानी कहाँ पुग्नु पर्ने ?’ उनले लम्बेजिब्रो पोखरिबाहिर नचाए । बढो भडकिलो तरहले अहम्ता पोख्दै ती स्त्री बोलिन्, ‘माथिल्लो गाउँ बाजे ।’ अचानक भीष्म बाजेले तीन पहर पछाडि सारे, दाईने हात अनुहारमा घुमाउँदै । ‘अनि नानी ? यति बिध्न भारी बोकेर पार गरौली त यो डाँडो ? खै लेऊ यो झोला म बोकिदिन्छु ।’ भीष्म बाजेले सबैभन्दा ठूलो झोला आफ्नो आङमा चढाइहाले । उनी भन्दै थिइन्, ‘सक्नुहुन्न बाजे यो त, यो हाते झोला चै समाउनु ।’ अहँ, टेरेनन् भीष्म बुढाले । स्त्रीलाई आफू अघि बढाएर उनी पछिपछि लागे । बुढा भन्दै थे, ‘के भन्छौ हौ नानी, अझै जवानै छु नि । सोध न त्यहाँ पुगेपछि, यो गाउँ हाँक्ने को हो भनेर ?’
स्त्री त थुम्कोमा किन्चितै कष्टले आइपुगिन तर भीष्म बाजे आएनन् । दामोदर बुढा तब मात्र होसमा आइपुगे जब ती स्त्रीलाई नजिकै देखे । दामोदर बुढा उठेर छटपटाउन थाले । हितैषी भीष्मको परोक्षमा, न कि स्त्रीको आगमनमा । स्त्रीले नै भनिन्, बाजे मेरो सामान बोकेर आउने बाजे त हराउनुभयो त.....!
दामोदर बुढा अचम्ममा त परि हालेनन् तर भीष्मको लुप्ततामा असमञ्जसतामा निसार भैरहे । उनले भीष्मलाई खोज्दै जादा तल रुखमा अल्झिएको देखे । निकै दुरुह अवस्था देखे उनले हितैषी भीष्मको । ती लोभना स्त्री पनि पछिपछि आउँदै थिईन । र भीष्म बाजेको शरीरको एक बृक्षको ठुटोमा लत्रेको गति देखेर चिच्याइन् ।
दामोदर बुढा एकदमै कान्तिहिनताको स्थितिमा पुगे । उनले नजिकै गएर अर्ध बृत्तकार आकारमा भएको शरीरलाई छोए । मुखमा जल पनि हालिदिए । तर, उनको श्वास उडिसकेको थियो ।
उनले ती स्त्रीउपर हेर्दै एकदमै निसाहार भएर भने, मृत्यु पनि ढोल पिटेर नआउने रहेछ नानी ।

Comments
Post a Comment