निबन्ध: सुन्दर ।
https://www.majheri.com/24624/
“तपाई सुन्दर वस्तु केलाई ठान्नुहुन्छ ?”
संसारमा सुन्दर वस्तुहरुको निसर्गलाई सबैले मन पराउछन् । सुन्दरतापट्टी द्रष्टाका लोचन एकाकार हुनुलाई स्वभाविक मानिन्छ । राम्रो, सौँम्य, सरस, मञ्जुल जुनसुकै सजीव वा निर्जीव वस्तु नै किन नहुन् ? तीउपर हामी प्रेममय भाव मात्र ब्यक्त गर्दैनौँ, फर्किएर कौतुक दृष्टि पनि लगाउछौँ । यो हामी मानिसको सजिवता हो । यति नहुँदो हो त फूल प्रजातिको लालीगुराश होस् या सुनाखरी त्यति धेरै अभिरता बोकेर मानव दृष्टिको बुभुक्षाको कवलमा रमाउँन्नथ्यो कि !
कतिपय तपाईँहरुलाई सुन्दरताको बारेमा कुरा कोट्याउँदा, ‘स्त्रीपट्टी पनि त कुरा ठोकिन्छ नि’ भनी कौतुक्ता पलाउनु स्वभाविक हो । सबैलाई थाहै छ, सुन्दरताको आरुढमा सदाझैँ अधिकांश रमणी/प्रमदाहरू टठी देखिन्छन् । उनीहरू आफ्नो बाहिरी शोभनले आफूलाई ताम्र सुन्दरी भन्ठान्छन् । आफूलाई जनसागरमा अतितोषित भएको नक्कल आफू पार्श्व गरिरहन्छन् कुनै विस्मयादीबोधकको गतिलो समिश्रणले जस्तो, 'ह्या !' , 'छ्या !' ,'छि !' ,'भो भो !' त्यस्ता लघु सुन्दरीहरुउपर चैँ ज्यादाजसो हाम्रा आँखा विसान गर्ने गर्छन् । उनीहरुको शारीरिक अनुपात सबैलाई कायदा लाग्छ । अनि, हाउभाउ र बोलीचाली मधुमाधवमा हौसिँदै निस्किएको आँकुराझैँ लाग्छ । त्यस्तो लोभन विरुढतामा हामी पुरुष वायुपड़्खी नहुनु पनि कसरी ?! मेरो खोजमा त्यस्ता हसिना वा ललनातिर परिणय/अपरिणय अवस्थाका दुवै निरन्ध भएका छन् । फलस्वरुप क्षणभंगुर आरुढयौवनले गर्दा जीवनको गतिलाई गुमाएका छन् । यसको परिणाम, ललनाको सुन्दरताले हो कि आफ्नै दृष्टिको असुन्दर आरुढताले हो ? म आफैँ निश्चिन्त हुन भने चैँ सकेको छैन ।
“अफसोच ! हामीले अर्को सुन्दरतालाई खोज्न सकेनौँ !”
मलाई पूर्ण सुन्दर भन्ने बित्तिकै सधैँ निर्जीव वस्तुको झझल्को आउँछ । त्यो हिमाल आफैँमा सुन्दर, त्यो पहाड सुन्दर, त्यो झरना त्यसै सुन्दर, त्यो नागबेली तटिनी वा शैवलिनी सुन्दर, त्यो एक्लो रवि सुन्दर, त्यो तारकिणी सुन्दर । हामी भए पनि सुन्दर, नभए पनि सुन्दर । मानौँ, यो अटल प्रकृति दिग्दिगन्त सुन्दर छ । ओहो ! ती प्राकृतिक कलेवरहरू जुगौँसम्म सुन्दर । त्यसैले, मलाई मानव सुन्दरसम्बन्धमा, झल्लिका पोतेर तत्रेरो भएका कुनै तरुण-तरुणी सुन्दर वा सुन्दरी भन्ठान्नुमा प्रकृतिलाई उपहास गरेसरह लाग्छ । यदि मानवलाई नै सुन्दर ठानिहाल्नु परे ती वालकहरुका कर्णकटु निनाद नै सुन्दर लाग्छन् । उनीहरुको हरेक वस्तु वा मानिसप्रतिको ईक्षण साँच्चै सुन्दर लाग्छ । उनीहरुको सुकुमार पृच्छाहरू झनै सुन्दर लाग्दछ । त्यही भएर मलाई वाल्यअवस्थाको सुकुमार अरुढ विपरित मनसा भएका लोकहरुसँग कौटिल्य चाल रच्न मन लाग्छ । फलस्वरुप, अमानुषी लोकसम्मको कल्पनामा हराउँन मन लाग्छ । चक्षुको संसारमा देखिएका अति लभनप्रतिको सबै अप्ष्टिलाई अमानुषिक यात्राबाट अमोघवाञ्छित हुन मन लाग्छ । परिणामस्वरुप, यसबाट सुन्दर र असुन्दर, अरे-मरेको अवस्था जीवित रहदैन । र, सबै एकनासे हरीतिमाझैँ लाग्छ । मनले त्यो र यो, राम्रो नराम्रो भेदन गर्नुमा कष्ट गर्दैन । मात्र, सुन्दर ।
हो, हामी सुन्दरनै खोज्छौँ बजारमा पनि । हामीलाई हरेक बस्तु किन्दा होस् या हेर्दा झल्लक नाटिकुटी झल्किनुपर्छ । हामी अपहसित, कलुषित वस्तु/चिजप्रति अभिसारण गर्न डराउछौँ । हा…य ! फगत् चिनजानको वरपर । तर, संकटमा अनिकाल निम्तिहाले हामी जस्तो सुकै असलकमसल किन नहोस्, रातको अहेरो बन्न पनि पछि पर्दैनौ । यो हामी मानवको समान गुण हो । हामी अर्कै छौ जुन देखाउँदैनौ । हामी देखाउँछौ जुन सुन्दर होस् । जुन सौम्य होस् । जुन स्वीकार्य होस् । किनकी, त्यो भडक नै कारखानादेखि विश्वविद्यालयसम्म बखानिया कहलिन्छ । हामी आत्मावञ्चनामा रमाउँन थालिसक्यौँ र बाहिरी देखावटमा नूर गिराउँन चाहँदैनौँ ।
कक्षामा एक गुरुले हामी शिष्यहरुसामु ‘आफू के सुन्दर र ?’ भनेको सुन्दा मैले उसैबेला भनेको थिएँ, ‘तपाईँ पनि सुन्दर नै हुनुहुन्छ नि ।’ मैले त्यो बखत उहाँको बौद्दिक सुन्दरताको त्राण गरेर भनेको भने पक्कै थिएँ । तर, कलियुग(दु:खको युग) अर्थात चौँथो युगमा देव सविताले पनि पुष माघको ठण्डीमा आफ्नो ज्योति गुमाउँने हो कि भन्ने भयले मलाई कुनै वदहजम तसल्ल गरिहाल्न मन लागेन । तर, सबै लोलीकारहरुले हस्सी उडाएका थिए त्यो बेला । र, मैले सुन्दरताको धज्जी उडाएको ठानेको थिएँ ।
तस्वीर: विमल सिटौला
मानिस आफैँमा, हरेक दृष्टिबाट एक सुन्दर प्राणि हो । त्यसो भए सोध्नुहोला, असुन्दर के त भनेर । मानिसको रंग, वर्ण, नश्ल, देश आदिमा मानिसको तौलाई अनिरन्ध भएको चै असुन्दर हो । सुन्दरताको सवालमा सबै व्यक्ति वा वस्तुप्रतिको तौलाई निरन्ध भएमा कति सुन्दर देखिनेथ्यो होला संसार । हो, मानवीय अविनय भनौँ या पार्थिवता असुन्दर हो । अध्येताहरुलाई बँटवारा गर्ने मनआशय सुन्दर हो । समग्रमा असुन्दर देख्नु नै असुन्दर हो । जुनसुकै इन्द्रियले असुन्दर भोजन र जलपान गर्नु नै असुन्दर हो । सुन्दरतालाई आकाशपुष्प ठान्नु नै असुन्दर हो । त्यस्तो निगाहबाट स्वयम् बाहिर निस्कन र निकाल्न नसक्नु नै असुन्दर हो ।
त्यसैले, संसारमा कुनै पनि चिज वा वस्तु अथवा मानिस असुन्दर छैनन् । असुन्दर छ त एकतर्फि अनिमेष दृष्टि जुन कलियुगमा तिब्रतर भएर आरुढ भइरहेछ र सुन्दरतालाई हरिताल लाइरहेछ ।

Comments
Post a Comment