मनोवाद : काल्दाइको लकडाउन ।
'काल्दाइको लकडाउन'
लौ दुई महिना पनि बितिसक्यो । लक डाउन भन्छन्, साँझबिहान मोटर कुदेका कुदै छन् । आफू बिस रुपैँया मुठ्ठीमा च्यापेर यसो कोल्टियो, अँध्यारमुखे गल्लीमा पनि रोकेर सातो लिन्छन्-'काँ हिँड्यौ बाजे ? तिमीलाई घरमा बस भन्या होइन ? अहिले नै मर्न मन छ ?'
'होइन हजूर, नुन लिन गाको, सिद्धिएर' भन्नुपर्छ । सानो भएर हो नै जतिको नगर्दा त ज्यानै थला पर्नेगरि ताजन दिइहाल्छन त । फेरि यो रासन पनि कति चोटि माग्न जानु ? पाँच चोटि भैसक्यो । अब त ओडामा पनि यो बुढो कति आउँन सकेको भन्दा हुन् । पितिक्क पितिक्क दिन्छन् । नजाऊँ भने अन्न छैन । काम पनि बन्द भैगयो ।
अब त मेरो बासै यहीँ चोकको पिपलमुन्तिर त हो नि । यहाँ पनि धेरै मान्छे आउँन थालिसके । नयाँ-नयाँ अनुहार देख्छु । जति खेदाउन् न यिनीहरुले, भो, म त मरे जान्न अब । कि दिनुपर्यो चामल । होइन भने यत्रैसिती !
तेस्का काल ! अस्तिसम्म त के छ काल्दाई भन्थ्यो बैदार साहु, हिजोआज त सम्झिन पनि छाड्यो । काम पर्दा मात्रै त हो माया गर्ने यिनीहरुले । आपतबिपतमा त कसले चासो गर्ने ? बुढेसकाल लागेपछि त सबैले साथ छाड्दा रैछन् । खुई ! घाम डुबिसक्यो, आज यो नाम्लोको पनि काम भएन । हिजो त एक दुई मुठो लग्याथेँ, सुकेको भएपनि साग ।
हैन, अच्चम्म छ ! यी शहरका मान्छे के खाएर बाँच्दै छन् हँ ? आवतजावत ठप्प, लेनदेन झन् ठप्प, बैँङ्क पनि बन्द भनेको सुन्छु, पसल लगातार बन्द छन् । यिनीहरुको पक्कै अर्कै स्रोत हुनुपर्छ । रिठ्ठेले त भन्थ्यो- 'शहरमा अर्को स्रोत नभाको त तिमी मात्रै हो बुढा' भनेर । हो कि क्या हो । दले भाइको पनि खेती छ । कान्छोको पनि भट्टी छ । सुन्छु, रुपवतीले यस्तो डाउनमा पनि चलाकी छे रे पसल । कुन जादु गर्दै छे हँ त्यो ! म पनि बुझौँला विस्तारै । सुतारको पनि राम्रै आम्दानी हुन्छ । सबैको सजिलै देख्छु त । हैन मेरो पनि सजिलै छ त । बाँचेकै छु त । पीडा मात्र त हो भित्र । यो त सबैलाई छ नि । हेत्त तेरिका ! फेरि पेट बटारियो । कस्ले बुझ्ने ? को छ र शहरमा मलाई चिन्ने ?
लट्टेकी आमा चामल आजसम्मलाई मात्र छ भन्छे । अब के गर्ने त भन्दा बोल्दिन् केही पनि । माग्न पनि जान्न । मैले त पठाकै हो नि बार्ह चोटि, जा, साख्खे भाइको त्यस्तो ढलमल छ । जे भएपनि यो शहराँ घर छ । एकै बोलिमा चेलीको खाचो टारिदिन्छ तेरो भाईले, भन्दा पनि मान्दिन खै । खै किन हो ? बाहिर पनि निस्किन्न आजभोलि । म भित्र पसेपछि चैँ गनगन गनगन गर्छे । जे गरेर भए पनि कमाउथी नि उसले पनि, घर चलाकै थिई । कसलाई थाहा र यस्तो हुन्छ भन्ने ? खुई ! के भएछ त्यहाँ हँ मान्छेको घुइँचो पो देखिन्छ त !
ओ भाई, ओ भाई, के भयो त्यहाँ ? यो बुडोलाई कस्ले सुन्ने ? आ... जे सुकै होस् ।
ओहो ! साहु पो आउँदै छ त । मोटर भैभै हिँडेर पो छ त । लौ न, के भन्ने अब ! अस्ति पचास रुपैँयामा किचकिच गरियो, रिसाको होला । उसलाई पो केही होइन, मलाई त धेरै हो नि । एकैचोटि पछि लिदा भैहाल्यो नि रे । कसरी हुन्छ त्यसरी ? मैले नखानु ?
लौ गर्नु भएछ ! आँखाले पनि साथ छोडिसकेछन्, भैमान पो रैछ ।
ओ रिठ्ठे भैमान, काँ तन्केको यसरी ? कहीँ नयाँ ठाउँ बुझिस् कि ?
किन बोल्थ्यो र अब ? ठूलाठालुको संगतले टुप्पैमा पुग्यो नि । टुप्पे भैमान !
हेत्त तेरिका ! कति फुक्दो रैछ यसले, खालि कोरोना ! कोरोना ! कोरोना ! सबैलाई थाहा छ नि । घरमा बसेर कसरी बल्छ चुलो यत्रो दुई दुई महिनासम्म ? हामी चैँ भोकले मर्नु । नखानु ? कि दिनुपर्यो सरकारले ? बहाल तिरिदिनु पर्यो, ग्याँस किनिदिनु पर्यो । चामल, तेल सबै दिनुपर्यो नि । खालि कोठामै बस्, कोठामै बस्, कोठामै बस् । गरीबको पीडा कस्ले बुझ्ने ? हुक्क हुक्क ।
ऊ, दलेभाइले आज पनि ल्याएछ चामल । मैले त जिन्दगीमा एउटा फोन पनि किन्न सकिन । अहिले फोन थियो भने दलेभाइको जस्तो कहाँ कहाँबाट रासन, पैसा लिएर आउथेँ होला नि । सबै यहि ढाडको ओखती गर्दै र खाँदै सकियो । आखिर यो पेसो छोड्न पनि सकिन । अब त मर्ने बेला भयो । आँखाले काम गर्न छाडेँ । शक्तिहिन भैयो । थकथक गल्छु एकछिन भारी बोक्दा पनि । खुई ! सार्है निन्द्रा लाग्यो । एकछिन ढल्किनु पो पर्यो यो बिसौनिमा......!

Comments
Post a Comment