कथा: अतृप्त इच्छा । विमल सिटौला ।

कलेजको पहिलो दिन । फरक उमंग र अनुभूतिले डोहर्याएको दिन । यसो भनौँ स्कुले जीवनले विश्राम लिएको दिन । मानविय स्वभाव पनि अजिवकै रहेछ, हरेक दिन नयाँपनलाई स्पर्श गर्ने लालशाबाट टाढा जान नसक्ने । अब त यस्तो लाग्छ, हरेक दिन नविन स्वाद होस् र नयाँ भोगाई होस् । हुन त कलेज आउँनु पूर्वदेखि नै रमाएको यो मन कलेज नै टेकेपछि कति रमायो होला ? त्यो छोटो समयको उमंगलाई, त्यसका थुँगाथुँगा, केस्राकेस्रालाई म आज पनि अनुभूति गर्न सक्छु यो व्यस्त सहरको मध्यभागबाट । यो चार पर्खालको घेराबन्दीबाट । एक दशकको अन्तरालपश्चात् पनि उस्तै ताजा बनेर आइरहेको छ त्यो स्कुले याद । एउटा गीतले भन्छ, ‘याद आउन पनि कोही न कोही त चाहिँदो रहेछ ।’ पक्कै हो रहेछ ।



केवल त्यो याद मनको स्मरणबाटिकामा एउटा स्वर्णिम इतिहास बनेर आइरहन्छ जब म त्यो समयमा फर्किन चाहन्छु । अनि जानिजानि म कसैलाई यसो तल सडकमा एक सुरले हिँडिरहेको देख्न हतारिन्छु । आफैँलाई थाहा छैन, म यति बिध्न मरिहत्ते किन गरिरहेछु त्यस दिनको पानालाई पल्टाउन ? आजभोलि मेरो मनसिजमा पनि विग्रह आएछ क्यार । र त, मलाई यस्तो लाग्छ, ‘हाम्रो जीवन एक दिनको न हो र हरेक क्षण र पल अवसर ।’ यो कुरा मैले त्यो उमेरमा हेक्का पाएको हुन्थेँ त सायदै म गम्भीर बन्न सक्थेँ कि आफ्नो जिन्दगीदेखि भन्ने पनि लाग्छ । यदि अवसरले बारबार ढोका ढकढकाउने भए म अहिले तोडिदिन्थेँ यो सम्बन्धलाई र पुन: फर्किन्थेँ त्यो स्वर्णीम दिनमा जहाँबाट फेरि नयाँ सम्बन्ध गास्न सकूँ । अथवा, ढिला नगरी मलाई माया गर्ने त्यो लज्जासिल प्रभातसँग मायामा हराइदिऊँ । किन यो बुढोको पछि लागिरहनु ? किन किचकिच सहिरहनु ? किन उसको आदेशमा चलिरहनु ? न त हामीमा कुनै रहरको बाजा एकसाथ बज्छन्, न बज्ने समयतालिका मिलेर आउँछ । हुन्छ त काटछाट । धत् ! सधैँ पनि होइन, कहिलेकाहीँ मिलाईन्छ गीटारको तारलाई घुमाएर एक सुर बनाएजस्तै । तर मिठास त कहाँ सुनिनु र ? प्रश्न यहि हो । ‘त्यो दिनले मात्रै कहाँ पुग्छ र ?' जिन्दगी त लामो छ । उमेर त ताजै छ ।’

 

मैले बिहे गर्ने भन्ने खवर जब प्रभातले सुनेथ्यो ऊ मसँग रिसाउँन थालेथ्यो । अनि जब मेरो बिहे ‘प्रेम सर’ सँग हुने कुरा उसले थाहा पाएथ्यो, उसले मलाई फेसबुकको साथीबाट हटाएको थियो । त्यसपछि त उसँग कहिल्यै भेट भएन मेरो । न त आजका दिनसम्म एकछिन मैले उसलाई सम्झने फुर्सद निकालेँछु । । मैले भने त, यो सम्झाई फगत अमिलो मनका लागि, पश्चतापको आगोलाई एकैचोटि हुरहुरी सल्काउनका लागि । मानौँ, प्रभातको याद एउटा अनलमय झिल्का हो जसको फैलावटमा म वर्तमानलाई बिर्सिन खोजिरहेछु र उतै हराउन चाहिरहेछु । अझै पनि के छ ऊ भित्र त्यस्तो हँ ! किन म लुटपुटिन खोजिरहेछु उसको छायाँमा ? यो त मलाई थाहा छैन । लाग्छ एउटा अतृप्त इच्छा बाँकी छ अन्तरकुन्तरमा ।

 

लाज लाग्छ अहिले संझिदा पनि । सायद उत्ताउलो उमेर थियो क्यार, भर्खर सोर्ह वर्षकी थिएँ । प्रभात सत्र । हामी दुईमा यस्तो सम्बन्ध थियो जुन कसैले पनि ठोकुवाका साथ भन्ने हिम्मत गर्दैन थिए । हामी कक्षा आठदेखि सँगसँगै एउटै कक्षामा पढ्दै आएका थियौँ । ऊ भन्थ्यो, निकै लजाएर, ‘हेर.., अब हामी सँगसँगै बस्नुपर्छ, सँगसँगै पढ्नुपर्छ।’ उसको कुरा सुनेर यस्तो लाग्थ्यो कि यति भन्न पनि कति गर्हो भइरहेछ उसलाई । सायद यही कुराले होला कलेजको रहर दिनप्रतिदिन चुलिएर गएको । यसरी स्कुले जीवनपश्चात हामी जील्ला सदरमुकाममा डेरा गरेर अध्यायन गर्न थाल्यौँ । सदरमुकाम आसपास चिनजानमा ऊ नै पहिलो थियो मेरो लागि । ऊ बजारको पल्लो कुनामा बस्दथ्यो भने म वल्लो कुनामा । डेराबाट हामी पढ्ने कलेज नजिकै थियो ।

 

तर उता हाम्रो गाउँ फरक थियो । एउटा सानो खोल्सो बीचमा थियो जसमा हामी किशोरावस्थामा प्रवेश नगर्दै खेल्ने गर्थ्यौ । त्यो खोलाजस्तै खोल्सो हाम्रो दूरी बढाइदिने माप भैदियो जुन आज पनि ती वरपरका पातला बृक्ष र बुट्यानहरु उजस्तै प्रिय लागिरहन्छन् । तर यो अचम्म भइरह्यो कि हामी जब कशोरावस्था वा यौवनको प्रभातमा आफूलाई पायौँ हामीले कुनै दिन पनि दुबैलाई सँगसँगै पाएनौँ पानीभित्र । सायद हामीलाई पानीभित्र लाजले नजिक हुन दिएन । अप्ठ्यारो वा असजिलो महसुस भइरह्यो । हो, यो कुराको अभाव आज पनि खड्किरहेछ, नजानिदो शिराबाट ।

 

अँ, म त्यो पहिलो अनुभूतिको कुरा गरिरहेथेँ । त्यो पहिलो दिन हामी सँगसँगै बस्यौँ कक्षामा । ऊ यति सोझो थियो कि उसलाई मैले मेरो लयमा हिँडाइदिन सक्थेँ । मेरो चुड्कीमा नचाइदिन सक्थेँ । त्यसदिन मैले भनेको थिएँ उसलाई, ‘आज त नयाँ नयाँ साथीहरु आउलान् । कोहीलाई नचिनौँला । निकै अप्ठ्यारो पर्ला । हगी ?’


उसले अकस्मात नजिक सरेर भनेथ्यो, ‘म छु त साथी, किन अरु चाहियो नि ?’ जीवनमै पहिलोपल्ट मसँग पहिलोचोटि ऊ हाँकिएर र रिसाएर यस्तो निकटको प्रतिकृया दिएथ्यो । मैले मन्द लजाएर उसलाई भनेथेँ, ‘तिमी त छौ नि तर.... मनका सबै कुरा सुनाउने एउटा केटी साथी त चाहिन्छ नि कलेजमा ।’ ऊ यसपछि निकै गम्भीर बनेर मलाई हेर्थ्यो । एक हप्तासम्म त हामी सँगसँगै भयौँ कक्षामा । त्यसपश्चात, म मनपर्ने केटी साथीहरुसँग बस्न थालेँ । ऊ केटाहरुसँग । तर कोठा फर्कदा कहिले सँगसँगै, त कहिले अलग अगल ।

 

स्कुले जीवनबाट छुटकारा पाएर आएका विध्यार्थीहरुमा नयाँ जोश र उमंग मसमान थियो । उनीहरु अब स्वतन्त्र हुन चाहन्थे । आकाशमा मनमौजी उडिरहने पंक्षिझैँ बन्न चाहन्थे । शिक्षकहरुले पढाउँथे र जान्थे । तर पढाईको ख्याल गर्ने थोरै मात्र । यतिकैमा हामीलाई पढाउने एक जना अंग्रेजी शिक्षक हुनुहुन्थ्यो जो निकै स्याल थिएँ । कक्षामा मलाई हेरेर हैरान पार्थे । म पनि के कम ? आँखा सन्काइदिन्थेँ । बाहिर भेट्दा जिस्काइदिन्थेँ । मलाई उनले भन्ने सधैँ एउटै वाक्य हुन्थ्यो, ‘पख न तिमीलाई !’ म पनि के कम ? ‘हेरौँला म पनि !’ भन्दिन्थेँ ।

 

कक्षामा उनी हरेक पाठसँग केटा र केटीको प्रसंग निकाल्थे । लहडी उमेरका किशोर किशोरी बढो दिलचस्पी दिएर हाँसोको फोर्रामा आफूलाई उतार्थे । म भन्न सक्दिनँ उनको त्यो उदाहरणको स्रोत उनकै अनुभव या अभ्यस्त भइसकेसम बानि । मलाई त लाग्थ्यो हामी केटीहरु उनको कुरामा जोडले हाँसिदिँदा उनी झन हौसिएका हुन् । म घरिघरि यो सोच्थेँ, ‘यो सरसँग कुन स्त्री पो आकर्षित भइन् होला र ? छ्या ! त्यस्तो अनुहार नपरेको पाको काका उमेरकासँग, तातु खुइलेसँग।’

 

शनिवारको दिन थियो त्यो । म सदरमुकामबाट अघिल्लो दिन घर आएकी थिएँ । परिवारबाट विछोडिएर समय बिताउँन बहूद गर्हो । के के नपुगेजस्तो । त्यस दिन साँझपख, पारीपट्टि बाँसघारीमा चराचुरुङ्गी च्याँईँच्याँईँ कराइरहेका थिए । त्यो च्याँईँचुईँले ठूलो खोल्सोको पानी गुनगुनाएको आवाज विलिन भएको थियो । त्यो पंक्षीको एकाकार चिरीबिरीले यो संकेत दिइरहेथ्यो, आजको दिन ढलिसकेको छ र भोलिको प्रतिक्षामा हर प्रणिहरु विश्राम लिने तरखरमा छन् । यता मैले त खै कुन सुरमा गएर हो आफ्नो काम भुसुक्कै बिर्सेछु । लौ जा, खाना पकाउन बिर्सेछु । म गीत सुन्दै र गुनगुनाउँदै कता पुगेछु कता । खाना बसाउनका लागि हतारहतार बाहिरपट्टि चामल हेर्दै थिएँ । उताबाट बुबासँग एकजना गफिदै आएको देखेँ । पुलुक्क अनुहार हेर्दा चिनेचिने जस्तो लाग्यो । त्यसपछि त लुसुक्क भित्र छिरेर चिहाएर हेरेँ ।

 

मलाई फरक अनुभूति हुन थाल्यो । डरको ड्याङ्ग्रोले जथाभावि मेरो आत्मविश्वासको खरीमा पिट्न थाल्यो । म भित्रको भित्रै अड्किएँ । बाहिर निस्कन मेरो तागत आएनँ । जब आमा भित्र छिर्नुभयो अनिमात्र म आफ्नो लयमा आउँन थालेछु । आमाले भन्नुभयो, ‘सरलाई पानी देऊ छोरी ।’ पानी दिन त अघिदेखि नै खोजिरहेको थिएँ तर सकिरहेको थिइनँ । मनमनै सोचेँ, ‘छ्या यो प्रेम सर किन पो आएका होलान घरैमा, लाजमर्दो !’ मैले मिश्रित भावमा आमालाई भनेँ, ‘पानी दिनू न, म चिया पकाउन लागेँ ।’ आमाले मैले भनेको कुरा जायज ठानी हत्तपत्त पानी दिन हतारिनुभो । तर चिया पाक्नुभन्दा पहिले नै ती सरले त बाटो तताईसक्नु भएछ ।

 

त्यसपछिका मेरा कलेजका दिनहरुमा सरसँग लाज लाग्न थाल्यो । उहाँसँग म ठाडोठाडो बोल्न नसक्ने भएँ । यददपि उहाँको जतिखेरै भेट्दा पनि एउटै वाक्य, ‘पख न तिमीलाई !’ तर मबाट त्यसपश्चात भने बेजवाफ, फगत लाजले या डरले । के भन्ने !

 

यतातिर मसँग प्रभात निकै बोल्न खोज्थ्यो । खोजिरह्न्थ्यो । ऊ मलाई हेर्थ्यो कक्षाकोठामा पनि । एकदिन साँझपख हाम्रो भेट त्यहीँ बजारमा भयो । सधैँ निकै हँसिलो र जाँगरिलो देखिने ऊ त्यस दिन अल्छी र भद्दासमान पाएँ । मेरो शंकाको विजले धर्ति चिहाउन नपाई उसले मलाई भन्यो, ‘एउटा कुरा सुन्या छु भनौँ कि नभनौँ ?’ मानौँ आगोमाथि तेल थपियो । मैले यथास्थानमा रोकिएर उसको पाखुरा जोड्ले समाउँदै भनेँ, ‘प्लिज प्रभात, कस्तो कुरा ! छिटो भन ।’ उसले अनुहारको रंग बदल्यो र निकै मरेसमानको आवाजमा भन्यो, ‘तिम्रो र प्रेम सरको लभ पर्यो रे ! हो ? कलेजभरी त्यस्तै हल्ला छ सुन्या छु ।’ म छाँगाबाट खसेकोझैँ भएँ । मैले मुखमा एकैचोटि हात लगेर मुख थुनेँ । अनुहार उसकोभन्दा ज्यादा बिग्रिएको अनुभब गरेँ । मेरो एकैछिन अघिको जोसजाँगरमा सुस्तता छायो । म एकोहोरो भएर उसैको अनुहार हेरिरहेँ । एकछिन पछि उसले मलाई फेरि भन्यो, ‘म पनि तिमीलाई माया गर्छु गंगे ! मैले भन्न नसकेको मात्र हो !’ ऊ यति भनेर आफ्नो पाखुर फुत्त तानेर भाग्यो, मलाई एउटा भुमरीमा हुत्याएर । त्यो भुमरीमा म हराईरहेँ केहिबेरसम्म एउटा कावा खाएको पंक्षीझैँ । कोठा त बल्ल तल्ल आइपुगेछु तर मन थिरमा कहाँ भयो र मध्यरातसम्मै ? शरीर कापिरह्यो । डर छिप्पिरह्यो । भोलि कसरी कलेजमा प्रस्तुत हुनु हो भन्ने चिन्ताले ग्रस्त बनाइरह्यो । अत: त्यस रात डराउँदै निदाएँ रातको तेस्रो प्रहरबाट ।

 

भोलिपल्ट त मलाई कलेजमा मुख देखाउन लाज लागेर आयो । म भारी मन र अध्यारो अनुहार बोकेर फेरि घर पुगेँ । यसरी एउटा क्याम्पसे रहरले घनिभूत भएकी म एक हप्तासम्म कलेज त के ? सदरमुकाम पनि टेक्न सकिनँ । घरमा पनि ठूलै तरंग निम्तियो । त्यसपछि सधैँ मलाई कलेज जान दबाब आउँन थाल्यो । तर कलेज सम्झ्यो कि हृदयपटल चसक्क गर्थ्यो । के भन्ने हुन साथीहरुले ? कसरी लिनेहुन मलाई ? अब त मेरो बेइज्जत भइसक्यो । यस्तै कुराहरुको चपेटामा परेर म जान सकिनँ ।

 

तर विध्यार्थी मान्छे, घरमा कहाँ बसिरहन मन मान्थ्यो र ? म सदरमुकाम नै गएँ डेरामा । एकदिन, करिब दश दिनपछि कलेज जाने निधो गरेँ, प्रभातसँग । प्रभातलाई मैले डेरामै बोलाएको थिएँ । ऊ यति खुसी भएर आएथ्यो कि सायद ऊ मलाई हेर्न वा मेरो आवाजलाई सुन्न आतुर थियो । ऊ मलाई भनिरहेको थियो, ‘खुलदुलि त बढेको छ, सार्है ।’ उसले फेरि थप्यो, ‘मलाई पश्चताप पनि भइरहेको छ नि ।’ मैले एकोहोरो मात्र सुनिरहेँ उसको कुरा । ऊ गाडीले झ्याप-झ्याप ब्रेक लगाएझैँ घरघरि मात्र बोल्थ्यो । मेरो मुखतिर नशालु चेहरा तेर्साउँथ्यो । मलाई भने उसका कुरा फगत खल्ला लगिरहेका थिए । म भित्र रापिलो चिन्ता अर्को थियो । म अर्को कुराले चिन्तित तुल्लिएको थिएँ ।

 

त्यस दिन सँगसँगै क्याम्पस पुग्यौँ । कक्षाकोठामा बस्यौँ । मेरा पहिलेका साथीहरु पनि मसँग बोलेनन् । सबैले मलाई हेरे । यस्तो लाग्यो, ‘कुन दशाले गर्दा म आज कलेज आएछु । अबदेखि म यसरी बदनाम दृष्टिको शिकार हुन कहिल्यै पनि यस ठाउँ टेक्दिनँ ।’ मैले हठात तातो बदनामपश्चात यो निर्णय गर्न पुगेँ । अंग्रेजी पढाउने त्यो सरको सट्टामा अर्को सर आएर पढाउन शुरु गर्नु भएको रहेछ । कारण बुझ्दै जाँदा मैसँग जोडिएको रहेछ । मैले एक साथीको मुखबाट यो सुनेँ, ‘प्रशासनले प्रेम सरलाई सस्पेन्समा राखेको छ रे ।’ त्यसपछि त मलाई कति खेर त्यहाँबाट भागूँजस्तो भयो । अन्तत: आँट गरेँ मैले र म फुत्त उठेर त्यहाँबाट बाटो लागेँ । अति नै विकल भए म । मेरो गतिमति सकिएझैँ लाग्यो । म घरमा पुगेपश्चात साउनको बर्षाझैँ मेरा आँखाबाट अश्रुधाराहरु बर्षिन थाले । आमालाई सम्झिएँ । त्यस दिन त रात परिहाल्यो । भोलिपल्ट विहानै म पुन: घर आइपुगेँ ।

 

जब आमालाई देखेँ, मेरा पयर लुटपुटिए । त्यसपछि म पादलग्न भएर भित्र कोठामा गुटमुटिएर रोएँ, चिच्याएँ । अन्त्यतिर, आमा पनि सारै दु:खी हुनुभयो र त्यस रात नै घरमा यो निर्णय भयो कि अब मरो विवाह नजिक नजिक आयो । कस्तो समय घुम्यो मेरो विध्यार्थी जीवनको आकाशमा त्यस रात ! मैले भगवानसँग लामो चिराग गरेँ- ‘भगवान मेरा रहरहरु धेरै छन् तसर्थ मलाई पूरा गर्न देऊ पहिले ।’ त्यस रात म बहिनीसँग सुतेँ । बहिनीले मेरो अवस्थाउपर केही पनि बोलिन, बस् ऊ हाँसिदिई मात्र मलाई हेर्दै । कस्तो थरहरी समय त्यो ! आँङ सिरिङ् हुन्छ अहिले । जब मैले बहिनीको मुखबाटै यो सुनेँ कि हाम्रो घरमा भोलि नै प्रेम सर आउँनुहुने रे, मेरो हात माग्न ।

 

फेसबुक खोलेँ । उनको प्रोफाईलमा पुगेँ । मलाई एक महिनाअघि नै फ्रेन्ड रिक्वेस्ट आएको रहेछ । मैले हत्तपत्त कन्फर्म गरेँ । त्यसपछि त म रातभरी उसकै फेसबुके गतिविधि हेरिरहेँ । उसका फोटाहरु हेरिरहेँ ।

तर ऊ पट्क्कै लागेन कि ऊ मेरो कदसँग मिल्ने श्रीमान हो । यस्तो लाग्यो, छ्या ! यति बुढोसँग म कसरी विवाह बन्धनमा बाधिँनु होला ? तर, परिवारले सुम्पिएपछि कुनै छोरीको पनि केही नचल्ने रहेछ । अहिले अनुभूति गरिरहेछु र यस्तो कारणमा त्यो बेला आफूलाई पाइरहेछु कि म ज्यादै उच्छृङ्खल भएछु र मभन्दा ज्यादा उनी पो भएछन् । उमेरको उच्छृङखलताले मेरो गोरेटो नै बदलियो । 

 

आज विवाह भएको पनि एक दशक भएछ अर्थात म काठमाडौँ आएको एक दशक भएछ । तर प्रभातसँग एकचोटि पनि भेट भएको छैन । म झ्यालबाट देख्छु प्रभातजस्तै एक लजालु मानिसलाई जो यहिँ तलको गोरेटो हुँदै कलेज आउनेजाने गर्छ । उसलाई हेरेपछि त्यो प्रभात मेरो आँखामा नाच्न आउँछ यसैगरी । म भित्र खै केले हिर्काउछ यसरी र म हरेक विहान यो पूर्वी झ्यालतिर आउँने मन गर्छु र शिवालय मार्गमा आँखा बिछ्याउछु ।


यो कथालाई साहित्यपोष्टमा पढ्नका लागि यहाँ थिच्नुहोला ।



Comments

Popular posts from this blog

लेख: व्यक्त्ति एक व्यक्तित्व अनेक भएका देवकोटा । विमल सिटौला ।

कथा: पश्चतापको चितामा । विमल सिटौला ।

आमा गीत । विमल सिटौला