पागल कविता । महाकवि

पागल

जरुर साथी म ! पागल !

यस्तै छ मेरो हाल !

म शब्दलाई देख्दछु,

दृश्यलाई सुन्दछु,

वास्नालाई स्वाद लिन्छु,

आकाशभन्दा पातला कुरालाई छुन्छु,

ती कुरा,

जसको अस्तित्व लोक मान्दैन

म देख्दछु ढुङ्गालाई फूल,

जब जलकिनारका जलचिप्ला

ती कोमलाकार पाषाण

चाँदनीमा,

स्वर्गकी जादूगर्नी मतिर हाँस्दा,

पत्रिएर, नर्मिएर, झल्किएर,

बल्किएर, उठ्दछन् मूक पागल झैं–

फूलझैं – एक किसिमका चकोर फूल

म बोल्दछु तिनसँग, जस्तो बोल्दछन् ती मसँग

एक भाषा, साथी

जो लेखिन्न, छापिन्न, बोलिन्न, बुझाइन्न, सुनाइन्न ।

जुनेली गङ्गाः किनार छाल आउँछ तिनको भाषा

साथी ! छाल छाल !

जरुर साथी म पागल !

यस्तै छ मेरो हाल !

तिमी चतुर छौ, बाचाल ।

तिम्रो शुद्ध गणितसूत्र हरहमेसा चलिरहेको छ,

मेरो गणितमा एकबाट एक झिके

एकै बाँकी रहन्छ ।

तिमी पाँच इन्द्रियले काम गर्छौ, म छैटौँले ।

तिम्रो गिदी छ साथी,

मेरो मुटु ।

तिमी गुलाफलाई गुलाफ सिवाय देख्न सक्तैनौ,

म उसमा हेलेन र पद्मिनी पाउँछु

तिमी बलिया गद्य छौ

म तरल पद्य छु

तिमी जम्दछौ जब म पग्लन्छु

तिमी सङ्लन्छौ जब म धमिलो बन्छु

र ठीक त्यसैको उल्टो

तिम्रो संसार ठोस छ

मेरो बाफ ।

तिम्रो बाक्लो, मेरो पातलो ।

तिमी ढुङ्गालाई वस्तु ठान्दछौ

ठोस कठोरता तिम्रो यथार्थ छ ।

म सपनालाई समात्न खोज्दछु

जस्तो तिमी, त्यो चीसो मीठो अक्षर काटेको

पान्ढिकीको बाटुलो सत्यलाई ।

मेरो छ वेग काँढाको साथी,

तिम्रो सुनको र हीराको ।

तिमी पहाडलाई लाटा भन्दछौ

म भन्छु वाचाल ।

जरुर साथी !

मेरो एक नसा ढीलो छ

यस्तै छ मेरो हाल ।

म माघको ठन्डीमा

ताराको सेतो प्राथमिक राप तापेर

बसिरहेको थिएँ

दुनियाँले मलाई तरङ्गी भने

भस्मेश्वरबाट फर्कँदा सात दिन

टोल्हाएको देखेर

भूत लागेको भने

एक सुन्दरीका केशमा समयका तुसाराको

पहिलो छिर्का परेको देखेर,

म तीन दिन रुँदा,

मेरो आत्मालाई बुद्धले छुँदा,

मलाई छटाएको भने ।

मैले बसन्तको पहिलो कोकिल सुनेर

नाचेको देख्दा,

बहुलाहा भने ।

एक सुनसान औंसीले मलाई निःश्वास भएर

म प्रलय वेदनाले उफ्रेँ,

मूर्खहरुले मलाई त्यस बेला ठिँगुरा हालेर राखे

र तुफानसँग एक दिन गीत गाउन थालेको थिएँ,

मलाई बुज्रुगहरूले

राँची पठाइदिए ।

म आफूलाई एक दिन मरेको सम्झेर

लम्पसार थिएँ ।

एक साथीले बेसरी चिमोटिदिए

र भने “ए पागल, तेरो सास अझ मरेको छैन ।“

यस्ता कुरा भए साल, साल,

पागल छु साथी,

यस्तै छ मेरो हाल ।

मैले नवाबको मदिरालाई खून भनेको छु,

छिमेकी रण्डीलाई लाश भनेको छु,

राजालाई गरिब,

सिकन्दरलाई मैले गाली दिएको छु,

महात्मा भनाउँदाको निन्दा गरेको छु,

नगण्य व्यक्तिलाई तर

सातौं आसमानसम्म

तारीफको पुलमा चढाएको छु

तिम्रा महापण्डित मेरो महामूर्ख,

तिम्रो स्वर्ग, मेरो नरक,

तिम्रो सुन, मेरो फलाम

साथी ! तिम्रो धर्म मेरो पाप

जहाँ तिमी आफूलाई चलाक सम्झन्छौ,

उहाँ म देख्दछु तिमीलाई बिलकुल लाटा !

तिम्रो उन्नति, मेरो अवनति, साथी !

यस्तै छ मोलमोलाइको उलटपुलट ।

साथी !

तिम्रो विश्व, मेरो बाल ।

जरुर साथी ! म बिलकुल चन्द्राहत छु,

चन्द्राहत,

यस्तै छ मेरो हाल ।

म अन्धालाई दुनियाँको अगुवा देख्दछु,

गुफातपस्वीलाई भगुवा देख्दछु,

मिथ्याका मञ्च चढेकालाई

काला नटुवा देख्दछु ।

विफललाई सफल देख्दछु,

प्रगतिलाई अगति देख्दछु ।

या हुँला मै ऐँचाताना,

या हुँला मै दीवाना,

साथी ! मै दीवाना !

निर्लज्ज नेतृत्वको नीरस रसनाको

रण्डीको नाच हेर,

जन अधिकारको डँडाल्नोको भाँच हेर ।

जब भँगेरा टाउके छापाको कालो मिथ्याले

मेरो विवेक वीरलाई

जाली झूटले ललकार्छ,

तब हुन्छन् मेरा गाला राता, साथी,

सल्केको गोलझैँ राता ।

जब निमुखा दुनियाँ कालो जहर पिउँदछ,

दुई कानले

मेरो आँखासामुन्ने अमृत भनेर

तब हुन्छन् ठाडा मेरा रौँ,

गर्गनका सर्पकेशझैँ मेरा जिस्क्याइएका रौँ, रौँ ।

जब बाघले मृग खान आँटेको देख्छु, साथी

या ठूलो माछाले सानो,

तब मेरा मकाएका हड्डीमा पनि दधीचिको आत्माको

भयङ्कर बल पसेर बोल्न खोज्दछ, साथी ।

स्वर्गबाट चट्याङ परेको दिनझैँ ।

जब मानवले मानवलाई मानव ठान्दैन, साथी

तब कडकडाउँछन् मेरा बत्तीस दन्ते बङ्गारा,

दुवै

जस्तो भीमसेनका दाँत,

अनि

प्रकोपको लाललाल, आँखाका डल्ला,

फनक्क घुमाएर एक डबलले म,

यो अमानवको मानवजगतलाई

एक आगोको लप्काले झैं हेर्दछु, साथी ।

उफ्रिन्छन् मेरा कलपुर्जा,

खलबल ! खलबल !

तुफान हुन्छ मेरो सास

विकृत हुन्छ मेरो चेहरा

बल्दछ मेरो दिमाग साथी

बडवानलझैं बडवानलझैं ।

म वन खाने आगो झैं बहुला हुन्छु

बहुला, साथी ।

काँचै निलूँझैँ विश्वविशाल ।

जरुर साथी

म सुन्दर चकोर, असुन्दर फोर,

कोमल क्रूर

चिडिया, स्वर्गाग्नि चोर,

तुफानपुत्र,

पागल ज्वालामुखीको उद्गार,

भयङ्कर व्यक्तित्वपाल

जरुर साथी !

सन्केमगज छु सन्के,

यस्तै छ मेरो हाल ।

                                                           


                                          लक्ष्मीप्रसाद देवकोटा 

Comments

Popular posts from this blog

लेख: व्यक्त्ति एक व्यक्तित्व अनेक भएका देवकोटा । विमल सिटौला ।

कथा: पश्चतापको चितामा । विमल सिटौला ।

आमा गीत । विमल सिटौला