कथा: अतृप्त इच्छा । विमल सिटौला ।


कलेजको पहिलो दिन । फरक उमङ्ग र अनुभूतिले डोऱ्याएको दिन । यसो भनौँ स्कुले जीवनले विश्राम लिएको दिन । मानवीय स्वभाव पनि अजिबकै रहेछ, हरेक दिन नयाँपनलाई स्पर्श गर्ने लालसाबाट टाढा जान नसक्ने । अब त यस्तो लाग्छ, हरेक दिन नवीन स्वाद होस् र नयाँ भोगाइ होस् । हुन त कलेज आउनु पूर्वदेखि नै रमाएको यो मन कलेज नै टेकेपछि कति रमायो होला ? त्यो छोटो समयको उमङ्गलाई, त्यसका थुँगा-थुँगा, केस्रा-केस्रालाई म आज पनि अनुभूति गर्न सक्छु यो व्यस्त सहरको मध्यभागबाट । यो चार पर्खालको घेराबन्दीबाट । एक दशकको अन्तरालपश्चात् पनि उस्तै ताजा बनेर आइरहेको छ त्यो स्कुले याद । एउटा गीतले भन्छ, “याद आउन पनि कोही न कोही त चाहिँदो रहेछ ।” पक्कै हो रहेछ ।

केवल त्यो याद मनको स्मरणवाटिकामा एउटा स्वर्णिम इतिहास बनेर आइरहन्छ जब म त्यो समयमा फर्किन चाहन्छु । अनि जानी-जानी म कसैलाई यसो तल सडकमा एक सुरले हिँडिरहेको देख्न हतारिन्छु । आफैँलाई थाहा छैन, म यति विघ्न मरिहत्ते किन गरिरहेछु त्यस दिनको पानालाई पल्टाउन ? आजभोलि मेरो मनसिजमा पनि विग्रह आएछ क्यार र त मलाई यस्तो लाग्छ, “हाम्रो जीवन एक दिनको न हो र हरेक क्षण र पल अवसर ।” यो कुरा मैले त्यो उमेरमा हेक्का पाएको हुन्थेँ त सायदै म गम्भीर बन्न सक्थेँ कि आफ्नो जिन्दगीदेखि भन्ने पनि लाग्छ । यदि अवसरले बारबार ढोका ढकढक्याउने भए म अहिले तोडिदिन्थेँ यो सम्बन्धलाई र पुनः फर्किन्थेँ त्यो स्वर्णिम दिनमा जहाँबाट फेरि नयाँ सम्बन्ध गास्न सकूँ । अथवा, ढिला नगरी मलाई माया गर्ने त्यो लज्जाशील प्रभातसँग मायामा हराइदिऊँ । किन यो बुढाको पछि लागिरहनु ? किन किचकिच सहिरहनु ? किन उसको आदेशमा चलिरहनु ? न त हामीमा कुनै रहरको बाजा एकसाथ बज्छन्, न बज्ने समयतालिका मिलेर आउँछ । हुन्छ त काँटछाँट । धत् ! सधैँ पनि होइन, कहिलेकाहीँ मिलाइन्छ गितारको तारलाई घुमाएर एक सुर बनाएजस्तै तर मिठास त कहाँ सुनिनु र ? प्रश्न यही हो । “त्यो दिनले मात्रै कहाँ पुग्छ र ?” जिन्दगी त लामो छ । उमेर त ताजै छ ।”

मैले बिहे गर्ने भन्ने खबर जब प्रभातले सुनेथ्यो ऊ मसँग रिसाउन थालेथ्यो । अनि जब मेरो बिहे “प्रेम सर” सँग हुने कुरा उसले थाहा पाएथ्यो, उसले मलाई फेसबुकको साथीबाट हटाएको थियो । त्यसपछि त ऊसँग कहिल्यै भेट भएन मेरो । न त आजका दिनसम्म एकछिन मैले उसलाई सम्झने फुर्सद निकालेछु । मैले भनेँ त, यो सम्झाइ फगत अमिलो मनका लागि, पश्चात्तापको आगोलाई एकैचोटि हुरहुरी सल्काउनका लागि । मानौँ, प्रभातको याद एउटा अनलमय झिल्का हो जसको फैलावटमा म वर्तमानलाई बिर्सिन खोजिरहेछु र उतै हराउन चाहिरहेछु । अझै पनि के छ ऊभित्र त्यस्तो हँ ! किन म लुटपुटिन खोजिरहेछु उसको छायामा ? यो त मलाई थाहा छैन । लाग्छ एउटा अतृप्त इच्छा बाँकी छ अन्तरकुन्तरमा ।

लाज लाग्छ अहिले सम्झिँदा पनि । सायद उत्ताउलो उमेर थियो क्यार, भर्खर सोर्ह वर्षकी थिएँ, प्रभात सत्र । हामी दुईमा यस्तो सम्बन्ध थियो जुन कसैले पनि ठोकुवाका साथ भन्ने हिम्मत गर्दैन थियो । हामी कक्षा आठदेखि सँगसँगै एउटै कक्षामा पढ्दै आएका थियौँ । ऊ भन्थ्यो, निकै लजाएर, “हेर.., अब हामी सँगसँगै बस्नुपर्छ, सँगसँगै पढ्नुपर्छ।” उसको कुरा सुनेर यस्तो लाग्थ्यो कि यति भन्न पनि कति गाह्रो भइरहेछ उसलाई । सायद यही कुराले होला कलेजको रहर दिनप्रतिदिन चुलिएर गएको । यसरी स्कुले जीवनपश्चात् हामी जिल्ला सदरमुकाममा डेरा गरेर अध्ययन गर्न थाल्यौँ । सदरमुकाम आसपास चिनजानमा ऊ नै पहिलो थियो मेरा लागि । ऊ बजारको पल्लो कुनामा बस्दथ्यो भने म वल्लो कुनामा । डेराबाट हामी पढ्ने कलेज नजिकै थियो ।

तर उता हाम्रो गाउँ फरक थियो । एउटा सानो खोल्सो बिचमा थियो जसमा हामी किशोरावस्थामा प्रवेश नगर्दै खेल्ने गर्थ्यौँ । त्यो खोलाजस्तै खोल्सो हाम्रो दूरी बढाइदिने माप भैदियो जुन आज पनि ती वरपरका पातला वृक्ष र बुट्यानहरू ऊजस्तै प्रिय लागिरहन्छन् तर यो अचम्म भइरह्यो कि हामी जब कशोरावस्था वा यौवनको प्रभातमा आफूलाई पायौँ हामीले कुनै दिन पनि दुवैलाई सँगसँगै पाएनौँ पानीभित्र । सायद हामीलाई पानीभित्र लाजले नजिक हुन दिएन । अप्ठ्यारो वा असजिलो महसुस भइरह्यो । हो, यो कुराको अभाव आज पनि खड्किरहेछ, नजानिँदो शिराबाट ।

अँ, म त्यो पहिलो अनुभूतिको कुरा गरिरहेथेँ । त्यो पहिलो दिन हामी सँगसँगै बस्यौँ कक्षामा । ऊ यति सोझो थियो कि उसलाई मैले मेरो लयमा हिँडाइदिन सक्थेँ । मेरो चुड्कीमा नचाइदिन सक्थेँ । त्यसदिन मैले भनेकी थिएँ उसलाई, “आज त नयाँ नयाँ साथीहरू आउलान् । कोहीलाई नचिनौँला । निकै अप्ठ्यारो पर्ला । हगि ?”

उसले अकस्मात् नजिक सरेर भनेथ्यो, “म छु त साथी, किन अरू चाहियो नि ?” जीवनमै पहिलोपल्ट मसँग पहिलोचोटि ऊ हाँकिएर र रिसाएर यस्तो निकटको प्रतिक्रिया दिएथ्यो । मैले मन्द लजाएर उसलाई भनेथेँ, “तिमी त छौ नि तर…. मनका सबै कुरा सुनाउने एउटा केटी साथी त चाहिन्छ नि कलेजमा ।” ऊ यसपछि निकै गम्भीर बनेर मलाई हेर्थ्यो । एक हप्तासम्म त हामी सँगसँगै भयौँ कक्षामा । त्यसपश्चात् म मनपर्ने केटी साथीहरूसँग बस्न थालेँ । ऊ केटाहरूसँग तर कोठा फर्कँदा कहिले सँगसँगै त कहिले अलग अगल ।

स्कुले जीवनबाट छुटकारा पाएर आएका विद्यार्थीहरूमा नयाँ जोस र उमङ्ग मसमान थियो । उनीहरू अब स्वतन्त्र हुन चाहन्थे । आकाशमा मनमौजी उडिरहने पक्षीझैँ बन्न चाहन्थे । शिक्षकहरूले पढाउँथे र जान्थे तर पढाइको ख्याल गर्ने थोरैमात्र । यतिकैमा हामीलाई पढाउने एक जना अङ्ग्रेजी शिक्षक हुनुहुन्थ्यो जो निकै स्याल थिए । कक्षामा मलाई हेरेर हैरान पार्थे । म पनि के कम ? आँखा सन्काइदिन्थेँ । बाहिर भेट्दा जिस्काइदिन्थेँ । मलाई उनले भन्ने सधैँ एउटै वाक्य हुन्थ्यो, “पख न तिमीलाई !” म पनि के कम ? “हेरौँला म पनि !” भन्दिन्थेँ ।

कक्षामा उनी हरेक पाठसँग केटा र केटीको प्रसङ्ग निकाल्थे । लहडी उमेरका किशोर किशोरी बढो दिलचस्पी दिएर हाँसोको फोर्रामा आफूलाई उतार्थे । म भन्न सक्तिनँ उनको त्यो उदाहरणको स्रोत उनकै अनुभव या अभ्यस्त भइसकेको बानी । मलाई त लाग्थ्यो हामी केटीहरू उनको कुरामा जोडले हाँसिदिँदा उनी झन् हौसिएका हुन् । म घरिघरि यो सोच्थेँ, “यो सरसँग कुन स्त्री पो आकर्षित भइन् होला र ? छ्या ! त्यस्तो अनुहार नपरेको पाको काका उमेरका सँग, तालु खुइलेसँग।”

शनिबारको दिन थियो त्यो । म सदरमुकामबाट अघिल्लो दिन घर आएकी थिएँ । परिवारबाट बिछोडिएर समय बिताउन बहुत गाह्रो । के के नपुगेजस्तो । त्यस दिन साँझपख, पारिपट्टि बाँसघारीमा चराचुरुङ्गी च्याइँच्याइँ कराइरहेका थिए । त्यो च्याइँचुइँले ठूलो खोल्साको पानी गुनगुनाएको आवाज विलीन भएको थियो । त्यो पक्षीको एकाकार चिरीबिरीले यो सङ्केत दिइरहेथ्यो, आजको दिन ढलिसकेको छ र भोलिको प्रतीक्षामा हरप्रणीहरू विश्राम लिने तरखरमा छन् । यता मैले त खै कुन सुरमा गएर हो आफ्नो काम भुसुक्कै बिर्सेछु । लौ जा, खाना पकाउन बिर्सेछु । म गीत सुन्दै र गुनगुनाउँदै कता पुगेछु कता । खाना बसाउनका लागि हतारहतार बाहिरपट्टि चामल हेर्दै थिएँ । उताबाट बुबासँग एकजना गफिँदै आएको देखेँ । पुलुक्क अनुहार हेर्दा चिनेचिने जस्तो लाग्यो । त्यसपछि त लुसुक्क भित्र छिरेर चिहाएर हेरेँ ।

मलाई फरक अनुभूति हुन थाल्यो । डरको ड्याङ्ग्राले जथाभावी मेरो आत्मविश्वासको खरीमा पिट्न थाल्यो । मभित्रको भित्रै अड्किएँ । बाहिर निस्कन मेरो तागत आएन । जब आमा भित्र छिर्नुभयो अनिमात्र म आफ्नो लयमा आउन थालेछु । आमाले भन्नुभयो, “सरलाई पानी देऊ छोरी ।” पानी दिन त अघिदेखि नै खोजिरहेकी थिएँ तर सकिरहेकी थिइनँ । मनमनै सोचेँ, “छ्या यो प्रेम सर किन पो आएका होलान् घरैमा, लाजमर्दो !” मैले मिश्रित भावमा आमालाई भनेँ, “पानी दिनू न, म चिया पकाउन लागेँ ।” आमाले मैले भनेको कुरा जायज ठानी हत्तपत्त पानी दिन हतारिनुभो तर चिया पाक्नुभन्दा पहिले नै ती सरले त बाटो तताइसक्नु भएछ ।

त्यसपछिका मेरा कलेजका दिनहरूमा सरसँग लाज लाग्न थाल्यो । उहाँसँग म ठाडोठाडो बोल्न नसक्ने भएँ । यद्यपि उहाँको जतिखेरै भेट्दा पनि एउटै वाक्य, “पख न तिमीलाई !” तर मबाट त्यसपश्चात् भने बेजबाफ, फगत लाजले या डरले । के भन्ने !

यतातिर मसँग प्रभात निकै बोल्न खोज्थ्यो । खोजिरह्न्थ्यो । ऊ मलाई हेर्थ्यो कक्षाकोठामा पनि । एकदिन साँझपख हाम्रो भेट त्यहीँ बजारमा भयो । सधैँ निकै हँसिलो र जाँगरिलो देखिने ऊ त्यस दिन अल्छी र भद्दासमान पाएँ । मेरो शङ्काको बीजले धर्ति चिहाउन नपाई उसले मलाई भन्यो, “एउटा कुरा सुन्या छु भनूँ कि नभनूँ ?” मानौँ आगोमाथि तेल थपियो । मैले यथास्थानमा रोकिएर उसको पाखुरा जोडले समाउँदै भनेँ, “प्लिज प्रभात, कस्तो कुरा ? छिटो भन न ।” उसले अनुहारको रङ्ग बदल्यो र निकै मरेसमानको आवाजमा भन्यो, “तिम्रो र प्रेम सरको लभ पऱ्यो रे ! हो ? कलेजभरि त्यस्तै हल्ला छ सुन्या छु ।” म छाँगाबाट खसेकीझैँ भएँ । मैले मुखमा एकैचोटि हात लगेर मुख थुनेँ । अनुहार उसको भन्दा ज्यादा बिग्रिएको अनुभव गरेँ । मेरो एकैछिन अघिको जोसजाँगरमा सुस्तता छायो । म एकोहोरो भएर उसैको अनुहार हेरिरहेँ । एकछिनपछि उसले मलाई फेरि भन्यो, “म पनि तिमीलाई माया गर्छु गङ्गे ! मैले भन्न नसकेको मात्र हो !” ऊ यति भनेर आफ्नो पाखुरा फुत्त तानेर भाग्यो, मलाई एउटा भुमरीमा हुत्याएर । त्यो भुमरीमा म हराइरहेँ केहीबेरसम्म एउटा कावा खाएको पक्षीझैँ । कोठा त बल्ल तल्ल आइपुगेछु तर मन थिरमा कहाँ भयो र मध्यरातसम्मै ? शरीर काँपिरह्यो । डर छिप्पिरह्यो । भोलि कसरी कलेजमा प्रस्तुत हुने हो भन्ने चिन्ताले ग्रस्त बनाइरह्यो । अतः त्यस रात डराउँदै निदाएँ रातको तेस्रो प्रहरबाट ।

भोलिपल्ट त मलाई कलेजमा मुख देखाउन लाज लागेर आयो । म भारी मन र अँध्यारो अनुहार बोकेर फेरि घर पुगेँ । यसरी एउटा क्याम्पसे रहरले घनीभूत भएकी म एक हप्तासम्म कलेज त के ? सदरमुकाम पनि टेक्न सकिनँ । घरमा पनि ठूलै तरङ्ग निम्तियो । त्यसपछि सधैँ मलाई कलेज जान दबाब आउन थाल्यो तर कलेज सम्झ्यो कि हृदयपटल चसक्क गर्थ्यो । के भन्ने हुन् साथीहरूले ? कसरी लिने हुन् मलाई ? अब त मेरो बेइज्जत भइसक्यो । यस्तै कुराहरूको चपेटामा परेर म जान सकिनँ ।

तर विद्यार्थी मान्छे, घरमा कहाँ बसिरहन मन मान्थ्यो र ? म सदरमुकाम नै गएँ डेरामा । एकदिन, करिब दश दिनपछि कलेज जाने निधो गरेँ, प्रभातसँग । प्रभातलाई मैले डेरामै बोलाएकी थिएँ । ऊ यति खुसी भएर आएथ्यो कि सायद ऊ मलाई हेर्न वा मेरो आवाजलाई सुन्न आतुर थियो । ऊ मलाई भनिरहेको थियो, “खुलदुली त बढेको छ, साह्रै ।” उसले फेरि थप्यो, “मलाई पश्चात्ताप पनि भइरहेको छ नि ।” मैले एकोहोरोमात्र सुनिरहेँ उसको कुरा । ऊ गाडीले झ्याप-झ्याप ब्रेक लगाएझैँ घरिघरि मात्र बोल्थ्यो । मेरो मुखतिर नशालु चेहरा तेर्साउँथ्यो । मलाई भने उसका कुरा फगत खल्ला लगिरहेका थिए । मभित्र रापिलो चिन्ता अर्को थियो । म अर्को कुराले चिन्तित तुल्लिएकी थिएँ ।

त्यस दिन सँगसँगै क्याम्पस पुग्यौँ । कक्षाकोठामा बस्यौँ । मेरा पहिलेका साथीहरू पनि मसँग बोलेनन् । सबैले मलाई हेरे । यस्तो लाग्यो, “कुन दशाले गर्दा म आज कलेज आएछु । अबदेखि म यसरी बदनाम दृष्टिको सिकार हुन कहिल्यै पनि यस ठाउँ टेक्तिनँ ।” मैले हठात् तातो बदनामपश्चात् यो निर्णय गर्न पुगेँ । अङ्ग्रेजी पढाउने त्यो सरको सट्टामा अर्को सर आएर पढाउन सुरु गर्नु भएको रहेछ । कारण बुझ्दै जाँदा मैसँग जोडिएको रहेछ । मैले एक साथीको मुखबाट यो सुनेँ, “प्रशासनले प्रेम सरलाई सस्पेनमा राखेको छ रे ।” त्यसपछि त मलाई कति खेर त्यहाँबाट भागूँजस्तो भयो । अन्ततः आँट गरेँ मैले र म फुत्त उठेर त्यहाँबाट बाटो लागेँ । अति नै विकल भएँ म । मेरो गतिमति सकिएझैँ लाग्यो । म घरमा पुगेपश्चात् साउनको वर्षाझैँ मेरा आँखाबाट अश्रुधाराहरू बर्सिन थाले । आमालाई सम्झिएँ । त्यस दिन त रात परिहाल्यो । भोलिपल्ट बिहानै म पुनः घर आइपुगेँ ।

जब आमालाई देखेँ, मेरा खुट्टा लुटपुटिए । त्यसपछि म पादलग्न भएर भित्र कोठामा गुटमुटिएर रोएँ, चिच्याएँ । अन्त्यतिर आमा पनि साह्रै दु:खी हुनुभयो र त्यस रात नै घरमा यो निर्णय भयो कि अब मरो विवाह नजिक-नजिक आयो । कस्तो समय घुम्यो मेरो विद्यार्थी जीवनको आकाशमा त्यस रात ! मैले भगवान्‌सँग लामो चिराग गरेँ- “भगवान् मेरा रहरहरू धेरै छन् तसर्थ मलाई पूरा गर्न देऊ पहिले ।” त्यस रात म बहिनीसँग सुतेँ । बहिनीले मेरो अवस्थाउपर केही पनि बोलिन, बस् ऊ हाँसिदिई मात्र मलाई हेर्दै । कस्तो थरहरी समय त्यो ! आँङ सिरिङ्ग हुन्छ अहिले । जब मैले बहिनीको मुखबाटै यो सुनेँ कि हाम्रो घरमा भोलि नै प्रेम सर आउँनुहुने रे, मेरो हात माग्न ।

फेसबुक खोलेँ । उनको प्रोफाइलमा पुगेँ । मलाई एक महिनाअघि नै फ्रेन्ड रिक्वेस्ट आएको रहेछ । मैले हत्तपत्त कन्फर्म गरेँ । त्यसपछि त म रातभरी उसकै फेसबुके गतिविधि हेरिरहेँ । उसका फोटाहरू हेरिरहेँ ।

तर ऊ पट्क्कै लागेन कि ऊ मेरो कदसँग मिल्ने श्रीमान् हो । यस्तो लाग्यो, छ्या ! यति बुढोसँग म कसरी विवाह बन्धनमा बाधिँनु होला ? तर परिवारले सुम्पिएपछि कुनै छोरीको पनि केही नचल्ने रहेछ । अहिले अनुभूति गरिरहेछु र यस्तो कारणमा त्योबेला आफूलाई पाइरहेछु कि म ज्यादै उच्छृङ्खल भएछु र मभन्दा ज्यादा उनी पो भएछन् । उमेरको उच्छृङखलताले मेरो गोरेटो नै बदलियो ।

आज विवाह भएको पनि एक दशक भएछ अर्थात् म काठमाडौँ आएको एक दशक भएछ तर प्रभातसँग एकचोटि पनि भेट भएको छैन । म झ्यालबाट देख्छु प्रभातजस्तै एक लजालु मानिसलाई जो यहीँ तलको गोरेटो हुँदै कलेज आउने जाने गर्छ । उसलाई हेरेपछि त्यो प्रभात मेरो आँखामा नाच्न आउँछ यसैगरी । मभित्र खै केले हिर्काउँछ यसरी र म हरेक बिहान यो पूर्वी झ्यालतिर आउने मन गर्छु र शिवालय मार्गमा आँखा बिछ्याउँछु ।


साहित्यपोस्टमा पढ्नुहोस्।


Comments

Popular posts from this blog

लेख: व्यक्त्ति एक व्यक्तित्व अनेक भएका देवकोटा । विमल सिटौला ।

कथा: पश्चतापको चितामा । विमल सिटौला ।

आमा गीत । विमल सिटौला