कथा: दशैँ । विमल सिटौल

समय चाडपर्वको । चाडवाडले छपक्कै छोपेको छ ।  रामकुमार मुखिया यसपाला आफ्ना दुई छोरीका इच्छालाई पूरा गर्न असमर्थजस्तै छ । मुखियाले स्वयम् आफ्नो पुरानो कमिज टालटुल गरेर परिधान गरेको छ । उसको कमिज, हेर्दामा कालोमैँलो, टाटैटाटा देखिन्छ । तीमाथि उसको दार्ही झुस्स फुलेको छ भने माथि शिरमा केही बाङ्गोगरी अडिएको नेपाली टोपी मैँलिएकै देखिन्छ । हो, अब उसले यो दशैँमा पनि आफूलाई यहि अवस्थामा उभ्याउने निधो गरिसकेको छ ।

मुखिया, चिउँडोमा हातको टेका लगाएर कुनै प्रतियोगितामा नमज्जाले भर्खर परास्त भएर बसेजस्तो एक विहानै वाल्ल परेर हेरी पनि रहेछ, माथिमाथि क्षितिजतिर जहाँ बादलका समूह गोलबन्ध भएर अटल बनेझैँ उभिएका देखिन्छन् । छेवैमा दुईतिर, उमेरले सात र आठ वर्षका छोरीहरु दुई हप्ताबाट आफ्नो बुबादेखि रिसाएर बसेका छन् । दुई सन्तान घरीघरी काखमा आइपुग्छन् लडीबडी गर्न । अनि, ऊ घरीघरी छोरीहरुका अनुहारउपर पनि आँखा दौडाउँछ र उनीहरुको उदास अनुहार हेर्छ ।

जेठी भन्छे, ‘यसपाला नयाँ फेसनको लुगा किन्दिनुपर्छ । कान्छी भन्छे, ‘यसपाला मासुभात खानुपर्छ नि बुबा ।’

उसले छोरीहरुलाई सम्झाउँदै आइरहेको छ, ‘छोरीहरु हो, यसपाला म थलिएकाले चाडपर्व मनाउन हामीसँग पैसा छैन ।’ यधपि, छोरीहरुको लिँडे ढिपी अझै साम्य भइसकेको भने छैन । त्यही भएर उनीहरु विहानै उठेर आफ्नो बुबाको छेउमा बसेर आफ्नो रुन्चे मुहार एकोहोरो देखाइरहेछन्, कतै बुबाको नजर आफ्नो रहरउपर परिहाल्छ कि भन्ने आशमा । तर, आफ्नो बुबा बिँडीको सर्कोमै लिप्त देखेर घरीघरी क्याउँ-क्याउँ गर्न बिर्सिन्छन् । यसरी दशैँको मुखमा केही सन्त्रास उनीहरुको बुबाउपर छरिएको प्रष्ट देखिन्छ । तर, उनीहरु अबोध भएकाले त्यो देख्दैनन् । त्यो बुझ्दैनन् । जेठीले त बुझ्नुपर्ने जस्तो लाग्छ उसलाई ।

आमा शिवमाया उताबाट पटुकामा चामल पोको पारेर हावामा उडौँलाझैँ गरी घरतिर बतासिँदै छिन् । यसरी उनी सरासर मूख्य गुमजबाट भित्र पसिन् । उनी पसेसँगै दुई छोरीहरु पछिपछि खुर्र दगुरे । छोरीहरु बढो खुसी हुँदै ‘आमा-आमा’ भन्दै र रमाउँदै झुम्मिए । उनले सो पटुका अगेनो छेउमा राखेपछि प्रफुल्ल भएर श्रीमानलाई भन्न आइन, ‘बरु दानविर दाइ नै हाम्रो भगवान । यस गाउँमा अरु त अभरमा कसैको भर नगर्दा हुन्छ बुढा । दानबिरनीले चैँ नदिने मनसाय झल्काउँदै थिइन् तर दाइको एक बोली एक बात । थपक्कै, चार माना चामल र दुई तिन केजी आलु, केही भुटुन दिइन् । सम्झिनू नि, परेको बेला म बोलाउँछु नि, भ्याउँदिन भन्न पाइँदैन भन्ने कुरा भा’छ । बोलाको दिन अरुतिर नगएर पनि त्यहाँ चैँ जानुपर्छ नि । एक बोली एक बात ! ’

मुखियालाई पत्यार थिएन दानविरले उनीहरुलाई परेको बेला यसरी सहयोग पुर्याउछ भन्ने । त्यसकारण, ऊ छक्क पर्यो र मैलिएको ढाकाटोपी मुन्तिरबाट औँलाले कपाल कन्याउँदै बाहिर निस्कियो । एक विहानै क्षितिजमा आकास उघ्रिएको देख्यो । उसले माथि आकासमा परपरसम्म हेरिरह्यो, तमाखु तानेर । ती पहिलेका बादलका समूह अन्त कतै हिँडिसकेका थिए । यसप्रकार, निलो आकास छर्लङ्ग देखियो ।

फेरी भित्रपट्टि केही खैलाबैला सुनियो । ‘प्याउली, तँलाई आगो फुक् भनेको हैन, किन भनेको नमानेकी ?’ ,शिवमायाले उँचो स्वरमा यसो भन्दै पानी लिन गाग्री समाएर बाहिर हिँडिन् । अनि, जेठी प्याउली अगेनाको छेवैमा पुगेर आँखा मिच्दै गरिरहि- फू.. फू.. । कान्छी रमा चैँ आमा बाहिर हिँडेसँगै आमाले पोकोपारी ल्याएको सामाग्रीलाई खोतल खातल पार्नतिर लागी ।

त्यसै त्यसै बाहिरपट्टि सखारबाट निन्याउरो भावमा एकोहोरिएको मुखियामा केही चमकता आयो । ऊ कतै रमाएजस्तो, कतै चञ्चलिएजस्तो, बढो रमाइलोसाथ शरीरको नुतन वान्किमा फुर्तिलो कदम बढाउन खोजिरह्यो । यता र उता, उता र यता गरिरह्यो । कतैकतै अनुहारमा केही मुस्कान पोखिएको पनि देखियो । यहि भावमा ऊ श्रीमतीको नजिक पुग्यो र सोध्यो, ‘ओए प्याउलीकी आमा, भन्त मलाई, हाम्लाई पत्याउने को छ त दानबिर दाइबाहेक अब ?’ श्रीमतीले छिटोछिटो सल्लाह पस्किन पुगिन्, ‘बरु बिन्ती बिसायो भने दानबिर दाइकै मन ठूलो छ बा । एक चोटि जानुहुन्छ कि...। तर जाँदा बुझिओरी दानबिर्नी माइत गएको मौँकामा जानुपर्छ ।’

मुखिया पुन: यथास्थानमा आयो र फेरी सुर्ती सल्काएर हेर्न थाल्यो सुदुरमा । फेरि बादलको अर्को समूह त्यति ठाउँमा आएर निलो आकासलाई छोपेछ । उता हेर्दाहेर्दै यताको श्रीमतीको कुराले एकाएका क्षणभङ्गुर गम्भिर बन्न पुग्यो । दु:ख पर्दा उनीहरुको परिवारलाई गाउँमा पत्याउने कोही पनि नहुँदा एकान्तिकताले अरुणमय भयो । गरिब भन्ने रोग पचास दशक नाघिसक्दा पनि झन्झन् क्यान्सरझैँ फैलिँदै गएको देखेर भित्रभित्र आतेसकम्प भयो । यतिकैमा प्याउली र रमा एकअर्कामा चल्दै र हाँस्दै त्यहाँ आइपुगे र आफ्नो बुबाको सामुन्ने एकअर्काको पोल खोलाखोल गरे । 

सुरुमा कान्छी रमाले पोल खोली, ‘बुबा, यसले अगेनोमा मट्टितेल हालेर आगो बाल्न खोजी ।’ लगतै प्याउलीले पोल खोली, ‘यसले यो दशैँमा आलुलाई नै मासु सम्झेर खानुपर्छ भनी ।’ यति भनेर  प्याउली अँध्यारीहुँदै भित्र पसेर अध्यारोमै लुकी । कान्छी रमा हाँस्दैहाँस्दै भन्न थाली, 'मलाई त्यसो भन्न तैँले त सिकाकी होस् नि, आलुलाई मासुसम्झेर खा न भनेकी हैनस् तैँले ।' उसको अबोध हाँसो रोकिएन । हाँस्दै भित्र छिरी । छोरीहरुको कुरा सुनेर मुखियालाई चसक्क भो । उसले केही बोलिहाल्न सकेन ।

शिवमाया आइपुगिन् बाहिर र बुढाबुढी मुखामुख गरे । खै के भयो त्यतिखेर मुखियालाई । ऊ त्यतैबाट सोझै बाटो ततायो । कहाँ हिँडेको आफ्नो श्रीमान ? श्रीमतीलाई हेक्का भएन । उनी भने कान्छी छोरीलाई च्यापेर भित्र पसिन् । एकदमै नैराश्यताले आकुलव्याकुल भएर र निर्धनताले थिचिएर अवाक हुँदै सुस्तरी अगेनोतिर लागिन् । यसरी शिवमायाको चालमा एकैछिन अघिको प्रसन्नता कायम भइरहँन सकेन । आवेग छिन्नभिन्न भयो । 

लाग्थ्यो कि मुखिया चैँ, कान्छी छोरीको कुराले हृदयसम्म च्वास्स घोचेर केही इन्तजाम गर्नभनी बत्तियो । ऊ सुरुमा दहले चोकको रमिते खाध्यन्न भण्डारमा पुग्यो । हाँक बढाएर कुरामा अल्झिएका गाउँका सुकिँला-मुकिँलाहरुको कुरा सुन्न पुग्यो, अलि परपर उभिएर । उसलाई वास्ता गर्ने कोही थिएनन् त्यहाँ । एउटाले सरकारको पक्षमा तेल थप्यो । अर्कोले मुखभरिको जबाफ फर्कायो । मुखियाले केही पनि बुझ्न सकेन पछिल्ला रस्साकस्सी । न उसलाई त्यहाँ कसैले ध्यान दियो, न दुइ चार कुरा राख्न सक्यो । ऊ त्यहाँबाट पनि हिँड्यो ।

सोच्दै हिँड्यो, ‘बस्, चाडवाडमा मलाई बालबच्चा खुसी राख्न पाएँ भयो ।’ तर, छोरीहरुको इच्छालाई उसले वर्षैँपिच्छे के के भनेर टारिरहेको थियो । पोहोर साल पनि प्याउलीले रुवाबासि गरेकी थिई, नयाँ लुका किन्दिनू भनेर । अहँ, उसले सकेन । त्यो साल उसको परिवारले दशैँ चैँ जेनतेन मनाएको थियो, रकम सरसापट गरेर भएपनि । ऊ अहिले विलखवन्दमा परेर वाल्लित भएको छ । उसलाई पत्याउने गाउँमा कोही छैनन् ।'

'अब मात्र दानबिर दाइ, एक मात्र भगवान !’, ऊ हिँड्दा हिँड्दै एक्कासी बुढीको कुराले झस्कियो ।

यसप्रकार, ऊ दानबिर दाइको घरतिर सोझियो । दुई चार पयर चालेपछि श्रीमतीले भनेको सम्झिएर फेरि रोकियो । ‘बरु विन्ती विसायो भने दानबिर दाइकै मन ठूलो छ बा । एक चोटि जानुहुन्छ तर आज होइन, भोलि जानु । एकै दिन दुई जानै छिनछिनमा जानु राम्रो पनि होइन । दानबिर्नी नभएको मौँकामा जानुपर्छ ।’ श्रीमतीको एक्छिन अघिका कुराले उसका पयर रोकिए पनि एकछिन् । तर,  आशाको अगाडि उसको केही चलेन । बडो आशाबादी हुँदै अगाडि बढ्यो । ऊ दानबिर दाएको आँगनमा पुग्यो र उभियो ।

दानबिर्नीले परैबाट आँखाले धेरै कुरा बोलिन् । तरपनि, मुखिया झन् नजिक गयो र सोध्यो, ‘कान्छा दाइ खै त... कान्छी भाउजू ?’ उनी रिठ्ठे अनुहार लगाएर नबोली सरासर भित्र पसिन् । मुखिया टुसुक्क भुईँमा बस्यो र बाङ्गो नेपाली टोपीभित्र हात घुसारेर कपाल कन्यायो । उसलाई अप्ठ्यारो यो अर्थमा भयो कि दानबिर्नी एक शब्द नबोली भित्र पो लागिन् । असहजतामा डुबुल्कि मार्दै मुखियाले उसैगरी कपाल कन्यायो । पल्याक् पुलुक्क वरिपरि हेर्यो, कतै दाइ देखिन्छ कि भन्ने आशमा । तर, उसले दाइलाई कतै देखेन । न दानबिर्नी भित्रबाट बाहिर आइन् ।

अब ऊ घर फर्किने अवस्थामा आइपुगिसकेको थियो । भाग्यवस्, दानबिर, उनको बुढो साइकल चढेँर आँगनमा अचानक आइपुगे । मुखिया जुरुक्क उठ्यो, अनुहारमा खुसी पोखाएर । ‘नमस्कार दाइ !’ ,उसले अपठ्यारो महसुस गर्दै सम्मान प्रकट गर्यो ।

‘अनि दाइ, कहाँ पुगेर यति सवेरै ?’ ,उसले सोध्यो । सायद अब केही सहजता थपियोस् भन्नका लागि बोलो ऊ ।

दानबिर साइकलको स्टेन लगाएर मुखियातिर आइपुगे र भने, ‘ए... यसो खेततिर घुमेर मुखिया कान्छा । अनि मुखिया भाइ, तिमी त धेरै व्यस्त छौ भन्ने सुन्याँ थेँ । धेरै दिन पो भयो त मुख नदेखाएको ।’ मुखियाले डराउँदै भन्यो, ‘हामी हजुरको छत्रछायाबाट टाढा जान नसक्ने भयौँ नि दाइ ।’

दानबिर दाइले उसको कुरा बुझिहाले र सोधे, ‘अँ, भन !’

‘त्यहि त हो नि दाइ, चाडपर्वले छपक्कै छोप्यो । जहान छोराछोरीलाई बजार घुमाइदिनु पर्यो भनेको, काम पनि गर्न सकिएन यसपाला बिरामी भएदेखि ।’ ,मुखियाले कहिले चिउँडोमा हात पुर्याउँदै त कहिले टोपीभित्रको कपालमा, कहिले हात जोर्दै समस्या तेर्सायो । उसले यसो भनिन्जेल उसको मुखमा पनि हेर्न सकेन, पर क्षितिजतिर हेरेर भन्यो । उता दानबिरको चेहराको रंग यथावत थियो । बरु मुखियाको पो बदलिएको देखिन्थ्यो ।

दानबिरले उसलाई एकछिन पुराना कुराहरु खोतालेर स्मरण गराइदिए । यस स्मरणबाटिकामा मुखिया आफ्सेआफ् कालोमैँलो हुन पुग्यो । कुरा यस्तो रहेछ- ‘आज भन्दा पाँच/सात वर्षअघि मुखियाले दानबिरबाट केही रकम यसैगरी चाडपर्वको बेला सापट लगेको रहेछ तर उसले आजसम्म तिरेको रहेनछ । तिरेन त नभनौँ, तिर्न सकेनछ वा बिर्सिएछ । ऊ सधैँ टाढाटाढा भइरह्यो । यसप्रकार मुखिया त्यहाँ अवाकजस्तै भयो । उसले यसपालि चैँ त्यस्तो हुँदैन भन्नै सकेन । त्यो क्षण उसलाई बढो हिनताबोध पनि भयो । बडो अप्ठ्यारो भयो भित्रभित्रै । के गरूँ के नगरौँ भयो । विलखबन्दमा परेजस्तै ।

उसलाई पुरानो व्यवहारमा ठोक्काएर दानबिर एक फेर भित्र पसे । सायद पत्नीसँग केही कुराकानि गरेर बाहिर निस्किए र अपर्झट सोधे, ‘भन त मुखिया, कति चाहिएको हो तिमीलाई ?’ तर, मुखियाले बाटो तताइसकेको थियो, सार्है हिनताबोध भएर । उनी जिल्ल परेर फेरि भित्र पसे । एकछिनपछि, बुढो साइकल चढीँ बाटो लागे ।

यता मुखिया फटाफट घरमा आइपुग्यो । भित्र नपसी निरास मुद्रामा बाहिरपट्टि टुसुक्क बस्यो, बिँढी सल्कायो र पर क्षितिजमा हेरिरह्यो । प्याउली र रमा रुच्चे अनुहार लगाएर आफ्नो बुबासँग झुम्मिदै आइपुगे । प्याउलीले रुन्चै अनुहारमै सोधी- ‘बुबा, आमाले भन्नुभा’को पैसा लिएर आउँनुभयो रे ?’ कान्छी रमाले हतारिएर भनी, होइन, होइन, आमाले भन्नुभाको छैन । यसले आफैँ भनेकी हो ।’ फेरी अमिलो अनुहार बनाउदै जेठी भित्र पसी र कान्छी हाँस्दैहाँस्दै पसी । कान्छीले हाँस्दै भनी, 'खा अब आलु ।'

'आमाले भन्नुभाको छैन । यसले भनेकी हो ।’ फेरी अमिलो अनुहार बनाउदै कान्छी  हाँस्दैहाँस्दै बाहिर निस्की । एकछिनपछि शिवमाया बाहिर हतारिदै निस्किन् र श्रीमानलाई आत्तिदै सोधिन्- ‘दानबिर दाइकोमा जानुभयो कि क्या हो ?’ मुखियाले भन्यो- ‘गाको त हो, तर दाइले पहिलेको कुरा गरेर म त बस्नै सकिनँ एकैछिन । म त लाजले लाल भएछु र फुत्त उठेर हिँडेँको । हैट ! सार्है अप्ठ्यारो भयो ।’

यतिकैमा दानबिर साइकल चढेर टुप्लुकिए उनीहरुको साँगुरो आगनमा । उसलाई देख्ने बित्तिकै उसैगरी लाजले लाल भएर मुखिया लुसुक्क भित्र पस्यो । ऊ भित्र  त्रास र लाजले पिङ खेल्न थाल्यो । शिवमाया अगाडि बढिन् । दानबिर दाइले केही नभनी पाँच हजार रुपैयाँ शिवमायालाई थमाइदिए र ‘छोरीहरुलाई दशैँ राम्ररी मनाइदिनू’ भनेर बाटो लागे । शिवमाया सुरुवातबाटै बोल्न खोज्दै थिइन् केही त तर अन्त्यसम्म पनि उनी एक आँखर बोल्न सकिनन् । धन्यवाद पनि टक्राउँन सकिनन् । दानबिर गएपछि मुखिया बाहिर निस्कियो र श्रीमतीलाई सोध्यो- ‘मैले गल्ती पो गरेँछु प्याउलीकी आमा, म त्यसरी हिँड्नु नहुने रैछ । दानबिर दाइ त ठूलो मनको छ भन्ने कुरा मलाई थाहा भएनछ ।’ त्यसपछि, मुखियाले दानबिर गएको बाटो हेरिरह्यो । मनमनै उसको गुणगान गाइरह्यो । ऊ बढो प्रशन्न देखियो । प्रशन्न यो अर्थमा कि उसले आफ्ना छोरीहरुको इच्छा अब पूरा गर्नेछ ।

प्याउली ट्वाल्ल परेर आमालाई हेरिरही । शिवमाया हातमा पैसा च्यापेर बडो प्रसन्नतामा उभिरहिन् । रमा एउटा आलु हातमा बोकेर दिदीलाई ‘तँलाई मासु दिन्न, दिन्न’ भन्दै हाँसिरही । शिवमायाले हर्षले विभोर हुँदै श्रीमानलाई भनिन्- ‘तपाईँ जस्तो सुकै सोच्नुहोस्, गाउँमा कोही न कोही त हामीजस्ता निर्धनहरुलाई हेर्ने मान्छे भगवानले खटाका हुन्छन् । साँच्चै अब त मलाई त त्यस्तै लाग्छ । दानबिर दाइ भन्या गरीबहरुलाई माया गर्ने गाउँको एक मात्र भगवान हो । आज दाइले गर्दा हाम्रो दशैँ आयो । प्याउलीको लुगा लगाउने इच्छा र रमाको मासु खाने इच्छा पूरा गर्न सक्ने भयौँ ।’ मुखिया प्रसन्न देखिए पनि केही नबोली शौचालयतिर पस्यो । उसले शौचालय जानुभन्दा अघि भन्यो, ‘सुन त, तँलाई एउटा फरिया पनि हाल् न त । छोरीहरुलाई सबै किनिसकेर पुग्यो भने.....चैँ एउटा कमिज मलाई पनि ।’ ऊ शौचालयतिर पसेपछि शिवमाया पैसा गन्न थाली- एक, दुई, तीन, चार, पाँच !!!

त्यस दिन खाना खाइसक्ने बित्तिकै रमा र प्याउली निदाए । भरे साँझमा उनीहरु चारैजना दशैँ भर्न रमाइरमाइ सदरमुकामतिर निस्किए । 

source: borjenmagazine.com

Comments

Popular posts from this blog

लेख: व्यक्त्ति एक व्यक्तित्व अनेक भएका देवकोटा । विमल सिटौला ।

कथा: पश्चतापको चितामा । विमल सिटौला ।

आमा गीत । विमल सिटौला