विचार: लकडाउन र डेरावालको पीडा ।
प्रकाशित मीति - सोमबार, जेष्ठ ५, २०७७
तर, परिस्थिति एकनासे भएन । एकाएक अविदित भाईरसले गर्दा देश लकडाउनमा पुग्यो । फलस्वरुप, दुई महिनासम्म देशका सबै ढोका बन्द छन् । नागरिकहरु जहाँको त्यहीँ रोकिएका छन् । एयरपोर्ट, नाका, होटल इत्यादिबाट धेरै नेपालीहरुले सरकारलाई गुहारिरहेको अवस्था छ । यथास्थानमा जे जे बाँकी छ त्यसैलाई हिफाजत गरेर खाएका छन । मन हुने र सक्नेहरुले बाँढेका पनि छन् । तर, यो अति असहज परिस्थिति कहिलेसम्म लम्बिएला त भन्ने प्रश्नमा कसैले पनि यति दिनसम्म भनेर भन्न सक्ने आधार बाँकी नरहेको अवस्था छ । डब्लु.एच.ओ ले पछिल्लो समय भनिसकेको छ, यो रोग तत्काल नियन्त्रणमा आउँन केही वर्ष लाग्नेछ।
कोरोना भाईरसबाट हालसम्म दुई जना नेपालीको देशभित्र मृत्यु भएको सरकारि तथ्याङ्क देखाएता पनि देशबाहिर दर्जनौँ नेपालीले ज्यान गुमाइसकेका छन् । देशबाहिर नेपालीको अबस्था दर्दनाक देखिन्छ । सामाजिक सञ्जालमा “बचाऊ बचाऊ” भन्दै गरेको रोईकराई समेतको चीत्कार सुन्दा प्रवासमा कार्यरत नेपालीभाषी नागरिकहरुमाथि त्यहाँको लागि नेपाली दुतावासले उदासिनता देखाएको प्रष्टै देखिन्छ।
देशभित्र र बाहिर नेपालीहरुको भाईरसको कारणले मृत्युदर बढेर जाँदै छ । यसबाट झन्झन् सतर्कता अपनाउनु अहिलेको आवश्यकता भएतापनि अहिलेको यो समयमा भोक मेटाउनु पनि सबैभन्दा ठूलो चुनौती रहेको मानव अधिकारवादीहरु बताउँछन् । मानव अधिकारको विश्वव्यापी घोषणापत्रको धारा पच्चिस, उपधारा एकमा खानाको साथसाथै स्वास्थ्य सुविधा र आवश्यक सामाजिक सेवाहरुको अधिकार रहनेछ भनि उल्लेख गरिएको छ । तर, बढ्दो लकडाउनले गर्दा नागरिकको आर्थिक अवस्था झन्झन् खस्कदो छ । यसको असर सिंगो अर्थतन्त्रमा स्वत पर्न गएको छ।
हो, नेपालमा लकडाउनले दुई महिना हान्न लागेको अवस्थामा छ। यसको असर दैनिक मजदुरवर्गमा कति परेको छ र उनीहरुको चुलो कसरी बलिरहेको छ भनेर हामी अनुमान पनि गर्न सक्दैनौँ । यो समस्या मजदुर वर्गको जीवनमा कराल समस्या भएर उभिएको छ । यी यस्तै आम निर्धन नागरिकका समस्याहरु हल गर्न राज्य स्तरबाट राहत संकलन र वितरण पनि भइरहेका छन् । तर, के उनीहरुले साँच्चै राहत पाए त भनेर अनुमान गर्न पनि मौलाउँदो भ्रष्टचारले दिइरहेको छैन । केन्द्रिस्तरदेखि गाउँस्तरसम्म हरेक तह र तप्कामा यो बेथितिले खुट्टो घुमाएकाले सोझा र सिधा नागरिकहरुले के पाउलान त भन्ने प्रश्न हामीमाझ ज्यूका त्यूँ छ ।
यसका अतिरिक्त सुगम ठाउँमा ठूलो संख्यामा विद्यार्थी डेरागरी बस्छन् । शहरबजारमा बसेर उच्च शिक्षा अध्यायन गर्ने अभिलाषामा उनीहरु विश्वविद्यालय र तीनका आंगिक क्याम्पसहरुमा अध्यायन गर्छन् । उनीहरुको कथा बेग्लै हुन्छ । महिनैपिच्छे घरबाट महिनादिनको लागि भनेर रकम आउँछ । त्यही रकमबाट शहरमा विद्यार्थी जीवन चलेका हुन्छ। तर, लकडाउन भएसँगै ओहोरदोहोर र आदानप्रदानको कुनै माध्यम नहुँदा उनीहरु बढो संकटमा धकेलिएका छन् ।
भाडा तिर्न त के, भोक टार्ने अन्न समेत नहुँदा उनीहरु विशाल संकटबाट गुज्रिएका छन् । यस्तो अवस्थामा उनीहरुका लागि भोक टार्ने माध्यम बिभिन्न ब्यक्ति र निकायबाट उपलब्ध भएतापनि घरधनीको टोकसो सहिनसक्नु छ । हो, आम भाडावालको समस्या बहाल कसरी तिर्ने भन्नेमा पनि छ । यसभित्र राजधानीका विद्यार्थी, मजदुर र निम्नवर्गका नागरिकहरु ठूलो अंशमा पर्न आउँछन् । उनीहरुले पहिलो महिनाको बहाल तिरे तर दोस्रोमा कसरी तिर्ने ? यदि फेरि लकडाउन लम्बिए तेस्रो चैँ कसरी ? अनि के गर्ने भन्ने कल्पना परिकल्पनाबाट कोरोनासँग लडिरहेका छन् । समग्र भाडावालहरु कतिपय घरधनीको उदासिनता र कठोरता देखेर विलखवन्दमा छन् ।
काठमाडौँ लगायत उच्च शैक्षिक संस्था आसपास कतै सुगम, त कतै दुर्गम ठाउँमा डेरागरी बस्ने डेरावाल विद्यार्थीहरु कति त घर जान भ्याँए तर, बाँकी त डेरामै छन् । जान चाहेर पनि कोरोनाको उच्च जोखिमले कोठामै खुम्चिन बाध्य भएका छन् । यसरी हेर्दा मूख्यत: राजधानीमा बसोबास गरिरहेका विद्यार्थीहरु यो अवस्थामा एकातिर आर्थिक चपेटाले पिरोलिएका छन् भने अर्कातिर राजधानीमा संभावित बढ्दो कोरोनाको प्रभावले त्रसित छन् ।
लकडाउनको समयमा घरधनीलाई सरकारले बहालको विषयमा, यो बिषम परिस्थतिमा मानवियता कायम गर्न आग्रह गरेतापनि त्यस्तो पाईएको छैन । म आफैँ पनि विद्यार्थी भएकाले त्यो किसिमको अनुभूति न मैले गरेँ, न मेरा साथीहरुले गरेको सुनेँ ।
घरधनीलाई सरकारले गरेको अनुग्रहपूर्ण आग्रह मानेर यो भयावह र डरलाग्दो मनोदशाबाट डेरावाललाई मुक्त पार्नका लागि, उनीहरुलाई एक बोझबाट अमलेख गराइदिए भाडवालहरुलाई कति सहास जुट्थ्यो होला रोगसँग जुध्न ? यो संकटको घडीमा शहरबजारमा मानवियता जीवित राख्दै डेरावाललाई कुनै यन्त्रणा नदिई मुक्त पो पारिदिने हो कि ? अनिमात्र कोरोनासँग लड्ने क्षमता आम डेरावालहरुमा बृद्दि भएर जानेछ । नत्र मानसिक रुपमा दर्हो नभई यो भयावहबाट हामी आम डेरावालहरु कसरी उन्मुक्त हौला ?यो गम्भीर तथा नेैतिक प्रश्न पनि रहेको छ ।
लेखक: विमल सिटौला
Comments
Post a Comment